भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’ को प्रचारका लागि अहिले अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह नेपाल टुरमा छन् । बिहीबार साँझ निर्माण टिमले चितवनको नारायणी नदी किनारमा भव्य कन्सर्ट गर्यो, जहाँ हजारौंको संख्यामा दर्शकको उपस्थिति थियो । कार्यक्रममा पुष्प र साम्राज्ञीले चलचित्रमा समावेश ‘जाम न माया जाम र सक्दिनँ म बाँच्न’ गीतमा नाच्दा दर्शकले जोडले हुटिङ गरेका थिए ।


दुईसँग सेल्फी खिच्न दर्शकहरु स्टेजमै चढेका थिए । भने, केही फ्यानहरु पुष्प र साम्राज्ञीलाई पछ्याउँदै होटेलसम्म पुगेका फिल्मका मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ ले जानकारी दिए । दुईले कार्यक्रममा बोल्दै चलचित्र राम्रो बनेकोले हलमा गएर हेर्न आग्रह गरे । निर्मात्री पुनम गौतमले तीजमा दर्शकलाई ‘मारुनी’ कोसेली लिएर आएको बताइन् । यस्तै, निर्देशक नवल नेपालले आफूले मन छुने चलचित्र बनाएको बताए ।


चलचित्रको नेपाल टुरमा गायक कृष्ण काफ्ले पनि सहभागी छन् । चलचित्रमा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह-निर्मातामा छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले चलचित्रको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । रेविका गुरुङ, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।




