एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’ को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ‘हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो ।

सिजन ३ नयाँ चुनौती, नयाँ फम्र्याट, नयाँ अनुहार एवं नयाँ शैली र आश्चर्यसहित आएको कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी बताउँछन् । यो सिजन प्रतिस्पर्धी, निर्माण युनिट र जजका लागिसमेत निकै चुनौतीपूर्ण हुने उनी बताउँछन् । ‘सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौं’ अधिकारीले भने– ‘प्रतिस्पर्धीमात्र हैन, यसपटक सेलिब्रेटी ग्याङ लिडरहरुनै चुनौतीपूर्ण खेलमा सहभागी हुनेछन् ।’
यसपटक चारजना सेलिब्रेटी जजहरुले चारवटा ग्याङको नेतृत्व गर्नेछन् । दिया मास्के, आशिष राना ‘लाहुरे’, हिमालय रोडिज पहिलो सिजनका बिजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाहीले ग्याङ (समूह) लिड गर्नेछन् । अघिल्ला सिजनहरुमा जज रहेका रेमनदास श्रेष्ठले कार्यक्रम होस्ट गर्नेछन् ।

यो बर्ष पनि नेपालका पाँच मुख्य शहरहरु– धरान, चितवन, नेपालगञ्ज, पोखरा र काठमाण्डौमा अडिसन हुने छ । नेपालगञ्जमा पहिलोपटक अडिसन हुन लागेको हो ।हरेक शहरबाट १०–१५ जना प्रतिस्पर्धीहरुलाई छनौट गरी चारवटा ग्याङ(समूह)मा बिभाजन गरिने छ ।
जर्नी राउण्ड सुरु भएपछि छानिएका प्रतिस्पर्धीहरुले बिभिन्न टास्कहरुमा सहभागी भई आफ्नो शासशिक कौशल प्रर्दशन गर्नेछन् । यो बर्ष अघिल्ला बर्षजस्तो केवल प्रतिस्पर्धीहरुमात्र टास्कमा सहभागी नभई सेलिब्रेटी ग्याङ लिडर पनि आफ्नो टीमका सदस्यलाई अघि बढाउन योजना बनाउन, खेल्न र टीमलाई जिताउन संर्घष गर्नेछन् ।




