आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । ‘छक्का पञ्जा’ को फ्लेवर दिने पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड छन् । पोस्टरले नै चलचित्र कमेडी प्रधान रहेको प्रस्ट्याउँछ ।
४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको चलचित्रको प्रदर्शन मिति भने पोस्टरमा राखिएको छैन । चलचित्रको रिलिज टार्गेट दशैं भए पनि अहिलेसम्म निर्माण टिमले आधिकारिक रुपमा मिति तोक्न सकेको छैन । भाद्र २७ र असोज १७ गतेमध्ये यो चलचित्र कुनै एक मितिमा आउन सक्ने सम्भावना छ । चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको चलचित्रको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार चलचित्रका कार्यकारी निर्माता हुन् ।
निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यस चलचित्रको अझै एक गीत खिच्न बाँकी छ । सुस्ताएको नेपाली चलचित्रको बजार ‘छ माया छपक्कै’ ले ब्यूँत्याउने अपेक्षा गरिएको छ । मुनाफाको ५० प्रतिशत लिने शर्तमा दीपकराज समुहले यो चलचित्र गरेको हो । यसका निर्माता रोहित अधिकारी हुन् । चलचित्रमा अभिनेत्री सुपुष्पा भट्टको पनि अभिनय छ ।




