‘कमेडी च्याम्पियन’ असोज पहिलो साताबाट प्रशारणमा आउँदैछ । ठूलो बजेटको रियालिटी शो भित्रेसँगै दर्शकमा नेपाली भाषामा बनेका ठूला टिभि शो हेर्ने बानी पर्नु यसको सकारात्मक पक्ष देखिएको छ । त्यस्तै नेपालको विज्ञापन बजारमा रियालिटी शोले ल्याएको तरङ्गको छुट्टै पाटो छ ।
जति ठूलो शो, लगानी त्यति नै बढि र उठाउन त्यति नै गार्हो हुने गर्दछ । यसमा केहि एजेन्सीहरुको साहारा लिंदा लगानी उठाउन सजिलो हुने गर्दछ । गत वर्ष एड रिलिजले ‘द भ्वाइस’ र ‘वेल्कम एड्भर्टाइजिङ’ ले ‘नेपाल आइडल’ को मार्केटिङ गरेका थिए ।

‘द भ्वाइस’ को लगानी नउठ्दै गांइगुइका बीच ‘नेपाल आइडल’ लाई वेलकमले निकै ठुलो रकम दिएको हल्ला थियो । गत वर्षकै हिसाब किताब कोट्याउँदा र ‘कमेडी च्याम्पियन’ को निर्माण खर्च र वेल्कमले दिनसक्ने सम्भावित रकम बुझ्दा नेपालको पहिलो कमेडी रियालिटी शो नाफामा गैसकेको प्रस्ट बुझ्न सकिन्छ ।
विशाल भण्डारी र केकी अधिकारीले राज घिमिरे र शृजय थपलियासँग मिलेर निर्माण गर्न लागेको शो केकी र विशालको पिआरबाटै राम्रो रकम उठाउन सक्ने सामर्थ्य राख्दछ । यसैबीच यदि कार्यक्रम निर्माणमा मात्र निर्माण टिमले ध्यान देओस् भन्ने आशय राख्दै वेल्कम एड्भर्टाइजिङको चेयरम्यान निर्मलराज पौडेल कमेडी च्याम्पियनको टिममा भएको युवा जोशबाट प्रभावित हुँदै आफूले शोमा लगानी गरेको बताउँछन् ।




