आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने चलचित्र ‘प्रेमगीत ३’ को पनि महँगो मुल्यमा ओभरसिज राइट्स विक्री भएको छ । शुक्रबार निर्माता सन्तोष सेनको जन्मदिनमा दाताज् इभेन्ट्सले चलचित्रको विदेश राइट्स ९५ लाखमा खरिद गरेको हो । यो यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक हो ।
शुक्रबार चलचित्र निर्माण कम्पनी आसुसेन फिल्मस्का कार्यकारी प्रमुख सन्तोष सेनसँग लिखित सम्झौता गर्दै दाताज् इभेन्ट्सका प्रमुख दाताराम घिमिरेले चलचित्रको ओभरसिज राइट्स खरिद गरेका हुन् । ‘प्रेमगीत’ सिरिजप्रति दर्शकको विश्वास भएका कारण निर्माण टिमलाई हौसला प्रदान गर्दै चलचित्रको विदेश राइट्स निर्माण अगावै खरिद गरेको घिमिरेले बताए । यो कम्पनीले पहिलो पटक नेपाली चलचित्रको विदेश प्रदर्शन अधिकार लिएको हो ।

‘यति ठूलो ब्यानरमा बन्न लागेको चलचित्रसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । यसबाट नेपाली चलचित्र क्षेत्रलाई एउटा इट्टा थप्ने काम हुनेछ भन्नेमा पूर्ण विश्वास छ’, घिमिरेले भने, ‘प्रेमगीत ३’ को ब्रान्डिङ र अभिनेता प्रदीप खड्काको विदेशी भूमीमा निकै राम्रो क्रेज भएका कारण चलचित्रलाई महँगो मुल्य तिर्न तयार भएका हौं । हाम्रो लगानी फिल्मले उठाउनेमा ढुक्क छौं ।’ अब यो चलचित्र विदेशमा प्रदर्शन गर्न इच्छुकले उनीसँग सम्पर्क गर्नुपर्ने छ ।
निर्माता सेनले आफ्नो जन्मदिन सेलिब्रेट गर्दै निर्माण अगावै ठूलो रकममा चलचित्रको विदेश राइट्स विक्री हुनुले आफूहरुमा थप जिम्मेवारी थपिएको बताए । चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसुर नछाड्ने उनको दाबी छ । दशैंपछि चलचित्रको छायांकन सुरु हुँदैछ । छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गर्ने पिरियड ड्रामामा प्रदीपसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, प्रेम पुरी, सन्तोष सेनलगायतको अभिनय रहनेछ ।




