शनिबार ‘मारुनी’ को आशालाग्दो व्यापार



अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’ ले शुक्रबार बक्सअफिसमा राम्रो व्यापार गरेको छ । मल्टीप्लेक्समा साउथ सुपरस्टार प्रभास अभिनीत चलचित्र ‘साहो’ केही असर गरे पनि यो चलचित्रले सिंगल स्क्रिनमा भने दर्शकको उल्लेख्य साथ पाएको वितरकको दाबी छ । शनिबार चलचित्रले देशैभर हाउसफुल दर्शक पाएको जानकारी प्राप्त छ । चलचित्रको व्यापार सिंगल स्क्रिनमा राम्रो छ ।

निर्मात्री पुनम गौतका अनुसार, शनिबार काठमाडौंका मल्टिप्लेक्सका केही शोजमा चलचित्रको अकुपेन्सी ९० प्रतिशतसम्म देखिएको छ । शनिबार बिहानैदेखि मध्यम वर्गीय दर्शकको सर्वाधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हलमा चलचित्रले हाउसफुल व्यापार गरिरहेको वितरकले बताएका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण चलचित्र लामो रेसको घोडा बन्नेमा निर्माण टिम पूर्ण विश्वस्त छ ।

शनिबार दिउँसो दर्शकसँग साक्षात्कार गर्न अभिनेत्री साम्राज्ञी, अभिनेता पुष्प, नव-अभिनेत्री रेविका गुरुङ, निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाललगायत राजधानीका विभिन्न हल पुगेका थिए । पुष्प, साम्राज्ञी र रेविकालाई निर्माण टिमले सुरक्षाका लागि दुई महिला र दुई पुरुष बडिगार्ड उपलब्ध गराएको थियो । उनीहरु गोपीकृष्ण हल पुग्दा दर्शकले न्यानो स्वागत गरे । उनीहरुसँग सेल्फी खिच्न दर्शकको ठूलो भीड लागेको थियो ।

अभिनेत्री साम्राज्ञीले फिल्म हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूलाई आफूले गरेको मिहिनेत सार्थक लागेको बताइन् । चलचित्रमा उनले ‘ट्रान्सजेन्डर’ युवतीको भूमिका निभाएकी छन् । दर्शकले उनलाई फरक भूमिकामा रुचाएका छन् । अभिनेता पुष्पले पनि दर्शकको माया पाएको भन्दै खुशी व्यक्त गरे । चलचित्रबाट नव-अभिनेत्री रेविकाले निकै तारिफ बटुलिरहेकी छन् । दर्शकले उनको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।


चलचित्रको कथावस्तु, प्रस्तुति, क्लाइमेक्सको दृश्य र सस्पेन्स पाटोलाई दर्शकले मन पराएका छन् । धेरैपछि फरक कथामा चलचित्र बनेको दर्शक प्रतिक्रिया छ । निर्देशक नेपालले चलचित्र हेरेपछि दर्शकले गर्ने प्रचार नै सबैभन्दा ठूलो हुने बताउँदै चलचित्रलाई प्राप्त सकारात्मक प्रतिक्रियाले हौसला मिलेको बताए । निर्मात्री पुनमले शनिबारको व्यापारले आफू उत्साहित भएको र आइतबारबाट दर्शक बढ्नेमा विश्वस्त रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu