खगेन्द्रको ‘पानीफोटो’ को छायांकन सुरु



भर्सटायल अभिनेताको छवि बनाएका खगेन्द्र लामिछाने अब आफूलाई चलचित्र निर्देशकको रुपमा पनि स्थापित गर्न खोज्दैछन् । दशक अगाडिको चर्चित नाटक ‘पानीफोटो’ माथि निर्माण हुन लागेको चलचित्रबाट उनले निर्देशनमा डेब्यू गर्दैछन् । यो नाटकको लेखन र निर्देशनको जिम्मेवारी पनि खगेन्द्रले नै निभाएका थिए । उनले यो नाटकलाई पुस्तकमा समेत ढालिसकेका छन् । अब दृश्यभाषामा बदल्न कसिएका छन् ।


आइतबार राजधानीको बंगलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्र ‘पानीफोटो’ को शुभ मुहूर्त गरिएको छ । आजैबाट चलचित्रको छायांकन पनि सुरु भएको छ । चलचित्रको मुहूर्त समारोहमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधानलगायत उपस्थित थिए । पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पखाईमा बसेका बुबा-आमाको कथामा ‘पानीफोटो’ आधारित हुनेछ । चलचित्रलाई दीपक बज्राचार्यले खिच्नेछन् ।

अभिनेता खगेन्द्र भन्छन्, ‘यो नाटकलाई चलचित्र बनाउँछु भन्ने सपना सन् २०११ तिरै बुनेको थिएँ । धेरै दर्शकले यो नाटक रुचाउनुभएको थियो । यसलाई झन् धेरै दर्शकमाझ पुर्‍याउन मन थियो, जुन चलचित्रबाट मात्र सम्भव थियो । यद्यपि, मैले पुस्तक भने निकालेको थिएँ । तर, फिल्म नै बनाउने सपना थियो, जुन अब पूरा हुँदैछ ।’ चलचित्रलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।


निमेष श्रेष्ठको सम्पादन रहने चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रको निर्माण घोषणाको बेला मुख्य अभिनेत्रीको टुंगो लागेको थिएन । चलचित्र ‘यात्रा’ बाट डेब्यू गरेको अभिनेत्री मलिका महत यो चलचित्रका लागि मुख्य भूमिकामा छनोट भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu