मनछुने चलचित्र बनाउन कहलिएका नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको यो चलचित्रले हलमा दर्शकको राम्रो साथ पाउन नसके पनि ‘वर्ड अफ माउथ’ बलियो छ । समीक्षक र दर्शक दुबैले चलचित्रको तारिफ गरेका छन् । बक्सअफिसमा यो चलचित्र साउथ सुपरस्टार प्रभास अभिनीत चलचित्र ‘साहो’ को मारमा परेको छ ।

पुरूष भएर जन्मिएकी तर लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक ‘ट्रान्सजेन्डर’ पात्रको प्रेमकथा वाचन गर्ने यो चलचित्र सेलिब्रेटीलाई पनि निकै मन परेको छ । आइतबार साँझ कुमारी हलमा चलचित्र हेर्न नाम चलेका सेलिब्रेटीहरुको बाक्लो भीड लागेको थियो । चलचित्र हेरेपछि कोही कथावस्तु र कलाकारको अभिनयको प्रशंसा नगरि बस्न सकेनन् । दोस्रो पटक ‘मारुनी’ हेरेका अभिनेता भुवन केसीले चलचित्र मनछुने रहेको बताए ।

यो चलचित्रले उठाएको विषयवस्तुमा अरु मेकरले चलचित्र बनाउने आँट नगर्ने उनको भनाई छ । उनले भने, ‘एकदम चुनौतीपूर्ण कन्टेन्टमा चलचित्र बनेको छ । चलचित्रमा केही कमी-कमजोरी छन् तर राम्रा पक्ष धेरै छन् ।’ असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रातो टीका निधारमा’ को दौडधुपमा रहेका निर्देशक अशोक शर्माले फिल्म अत्यन्त राम्रो रहेको तर प्रदर्शनका लागि गलत समय परेको बताए ।

‘बलिउडको त्यति ठूलो चलचित्र ‘साहो’ का कारण यो चलचित्र अलि ओझेलमा परेको हामीले महशुस गरेका छौं । तर, चलचित्र उम्दा छ । चलचित्र उठाएको विषयवस्तु राम्रो छ । निर्देशकले इमान्दारपूर्वक काम गरेका छन् । कलाकारहरुको अभिनय मनछुने छ’, उनले भने । अभिनेत्री केकी अधिकारीले चलचित्रमा आफू नभएकोमा निर्देशकप्रति गुनासो पोखिन् । चलचित्रका कैयन् दृश्यमा आफूलाई पाएको उनको भनाई छ ।

यस चलचित्रका निर्देशक नेपालको एक्सन-कटमा दुई चलचित्र ‘महशुस’ र ‘भाग् सानी भाग्’ मा काम गरिसकेकी उनी भन्छिन्, ‘नवल दाईसँग एउटा छुट्टै इमोसन छ मेरो । करिअरको सुरुवाती दिनमै उहाँसँग काम गर्न पाएकी थिएँ । उहाँ यस्तो निर्देशक हुनुहुन्छ, जसले चलचित्रको गुदी समात्न सक्नुहुन्छ । ‘मारुनी’ हेरेपछि मलाई किन नलिनुभएको भनेर नवल दाईलाई सोधेको थिएँ । केही दृश्यमा म अटाउने ठाउँ देखेको थिएँ ।’

समाजले नजरअन्दाज गरेको जेन्डरलाई सम्मानजनक रुपमा चलचित्रमा देखाउनु आफैंमा चुनौतीपूर्ण रहेको बताउँदै अभिनेत्री केकीले चलचित्रले इमोसन्सलाई कतै मजाक हुने ठाउँ नदिएको बताइन् । उनले दर्शकलाई पनि चलचित्र नछुटाउन आग्रह गरिन् । अर्की अभिनेत्री रीमा विश्वकर्माले आफूलाई गर्न मन लागेको चलचित्रमा ‘मारुनी’ पर्ने बताइन् । चलचित्र हेरिरहँदा पर्दाबाट आँखा नहट्ने उनी बताउँछिन् । निर्देशक विशाल भण्डारीले पनि चलचित्र उत्कृष्ट बनेको बताए ।

अभिनेता पल शाह पनि चलचित्रको प्रशंसा गरेर थाकेनन् । उनले चलचित्रको कथावस्तु निकै मन परेको बताए । ‘हरेक सिनमा सस्पेन्स रैछ । पुष्पको एकदमै राम्रो काम लाग्यो । उनको अभिनयमा परिपक्वता देखेँ । साम्राज्ञीको अभिनय ‘वाउ’ छ । रेविका जीको अभिनयले पनि मन छोयो’, उनले भने । अभिनेत्री वर्षा राउतले पनि पलकै कुरा ‘कपीपेस्ट’ गरिन् । चलचित्रको कथावस्तु आफूलाई सबैभन्दा राम्रो लागेको उनले बताइन् ।

पुनम गौतम निर्माता रहेको यो चलचित्रमा साम्राज्ञी आरएल शाह, पुष्प खड्का, रेविका गुरुङ, आयुश प्रधान, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतको अभिनय छ । राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह निर्माता रहेको यस फिल्मको कथा गोविन्द फुँँयाल र निर्देशक नेपालले लेखेका हुन् । चलचित्रलाई संजय लामाले खिचेका हुन् । मित्र डि.गुरुङ चलचित्रका सम्पादक हुन् ।




