पर्यटकीय नगरी पोखरामा चलचित्र पत्रकारिता गर्दै आएका पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको आयोजनामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ सुरु भएको छ । बुधबारबाट पोखरामा रहेको नेपाल पर्यटन बोर्डमा सुरु भएको कार्यशाला शुक्रबारसम्म चल्नेछ । चलचित्र पत्रकार संघले पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा यो कार्यशाला आयोजना गरेको हो ।
बुधबार भएको कार्यशालाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, फिल्म निर्देशक धनश्याम लामिछाने, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया, चलचित्र पत्रकार संघका कास्की संस्थापक अध्यक्ष श्रीराम सिग्देललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री विकास लम्सालले ‘पर्यटन वर्ष २०२०’ लाई ‘चलचित्र पत्रकारिता कार्यशाला’ ले सहायक भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । फिल्ममार्फत् देशको पर्यटन प्रवद्र्धनमा निकै ठूला भूमिका रहेको उल्लेख गर्दै उनले भने, ‘पर्यटनलाई टेवा पुर्याउनका लागि यस्ता कार्यशाला तथा गोष्ठीहरुको निकै ठूलो भूमिका रहन्छ । त्यसैले हामी यस्ता कार्यहरु पोखरमा होस् भन्ने चाहन्छौं ।’ नेपाली फिल्ममा पोखराका दृश्य अपरिहार्यझैँ हुनु पर्यटन प्रवद्र्धनका लागि सुखद पक्ष रहेको उनी बताउँछन् ।
मन्त्री लम्सालले अबको चार महिनामा १५ लाख पर्यटक नेपाल भित्राउने सरकारको तयारीमा चलचित्र पत्रकारहरुको पनि साथ र सहयोग मिल्नेमा विश्वस्त रहेको बताए । फिल्म सिटीका लागि पोखराको नाम प्रस्तावित भए पनि निकै खर्चिलो हुने भएका कारण तत्काल सुरु गर्न नसकिएको पनि उनले स्पष्ट पारे । उनले यो विषयलाई पनि कार्यशालामा छलफलको विषय बनाउन आग्रह गरे ।
कार्यशालामा सहभागी हुन राजधानीबाट ८० जना र चितवनलगायतका शाखाबाट १० बढी फिल्म पत्रकारहरु पोखरामा भेला भएका छन् । कार्यशालामा प्रशिक्षकको रुपमा रहेका बरिष्ठ पत्रकार राजेन्द्र दाहालले बिहीबार पत्रकारिताको आचारसंहितालगायतका विषयमा प्रशिक्षण दिनेछन् । चलचित्र पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष सन्दीप सापकोटाले यस कार्यशालाले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने चलचित्र पत्रकार संघको दायित्व भएकोले कार्यशालाको आयोजना गरिएको उनले बताए । उक्त कार्यशालामा पत्रकार आचारसंहिता तथा मिडियासम्बन्धि कानुन, चलचित्र, समिक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया सम्बन्धि दक्षताको ज्ञान सिकाइनेछ । कार्यशालाको क्रममा चलचित्र पत्रकारलाई पोखराका विभिन्न रमणीय स्थान पनि अवलोकन गराइनेछ ।




