गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ का निर्देशक दिनेश राउत र सुवास थापाले मिलेर ‘सेल्फी किङ’ नामक चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्रमा भर्सटायल अभिने्ता विपिन कार्की प्रमुख भूमिकामा रहनेछन् । विशाल सापकोटाले चलचित्रको निर्देशन गर्नेछन् । यो उनको डेब्यू चलचित्र हो ।
आइतबार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रको औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । चलचित्रमा विपिनको जोडी अभिनेत्री लक्ष्मी बर्देवासँग बाँधिएको छ । चलचित्रको एक आइटम गीतमा भने अभिनेत्री केकी अधिकारीले नृत्य प्रस्तुत गर्नेछिन् । यसअघि अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रको आइटम गीतमा नृत्य गर्ने चर्चा थियो ।

यसै वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रको कथा निर्देशक सापकोटा स्वयंको हो । प्रवल कोइराला र राजेश विशुरल सह-निर्माताको रुपमा रहेको चलचित्रलाई सुशन प्रजापतिले खिच्ने जिम्मेवारी पाएका छन् ।
जीवन थापाले चलचित्रको सम्पादन गर्नेछन् । सुवास भुषालको संगीत रहने चलचित्रको गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन रहनेछ । निर्मल लामाले फिल्मको गीतमा कोरियोग्राफी गर्नेछन् । चलचित्रको घोषणा सभामा बोल्दै अभिनेता विपिनले राम्रो टिम र स्क्रिप्टका कारण ‘सेल्फी किङ’ गर्न राजी भएको बताए । चलचित्रको कथा आफ्नो वास्तविक जीवनसँग धेरथोर मिल्ने पनि उनको भनाई छ ।

चलचित्रले एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन गर्नेछ । चलचित्रमा विपिनले गोपाल दाहाल अर्थात् हाँस्यकलाकारको भूमिका निर्वाहा गर्नेछन् । पहिलो पटक निर्माताको रुपमा आएका निर्देशक राउतले न्यू कमरलाई प्रोत्साहन र हौसला दिने उद्येश्यले आफू चलचित्र निर्माणमा होमिएको बताए । उनी अहिले चलचित्र ‘मेरो एउटा साथी छ २’ को तयारीमा छन् ।




