प्रचारका लागि ‘पासवर्ड’ मा सन्नीलाई अटाइएको होइन : निर्माता तथा कलाकार जोशी



सम्राट बस्नेत निर्देशित चलचित्र ‘पासवर्ड’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यसको एक आइटम गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीले बोल्ड ठुम्का लगाएकी छन् । यो फिल्मको प्रिमियरमा सहभागी हुन उनी केही दिनमा नेपाल ओर्लिदैछिन् । चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय छ ।

चलचित्रको केही सिनमा सन्नीले पनि अभिनय गरेको निर्माण टिमको भनाई छ । नेपालबाट चोरिएर लण्डन पुर्‍याइएको मन्दिरको मुर्ति नेपाल फिर्ता गर्न प्रमुख पात्रले गर्ने संघर्षमा चलचित्र घुमेको छ । लामो समयदेखि यूकेमा बसोबास गर्दै आएका अभिनेता तथा निर्माता विक्रम जोशीले एक्सन, थ्रीलर र सस्पेन्स जनरामा ‘पासवर्ड’ ले भरपूर मनोरञ्जन दिने दाबी गरेका छन् । यूकेबाट सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले चलचित्रमा आफूलाई धनि पिताको एक व्यापारी छोराको भूमिकामा देख्न सक्ने बताए ।


यस फिल्मका निर्माता मध्येका एक विक्रमले यसअघि आफूले निर्माण र अभिनय गरेको चलचित्र ‘ह्याप्पी डेज’ मै अभिनेत्री सन्नीलाई अभिनय गराउने प्रयास गरिएको भएता पनि ठूलो बजेट लाग्ने भएकाले सम्भव नभएको बताए । ‘पासवर्ड’ का लागि अफर गर्दा सन्नीले सहर्ष स्वीकार गरेको उनी बताउँछन् । सन्नीलाई प्रचारका लागि मात्र चलचित्रमा नअटाइएको उनको जिकिर छ ।

उनलाई चलचित्रमा लिनुको कारणबारे विक्रम भन्छन्, ‘उहाँ (सन्नी) जोडिँदा ‘पासवर्ड’ को पब्लिसिटी हुन्छ भने त्यो हाम्रो लागि राम्रो हो । हाम्रो मुख्य उद्येश्य अन्तर्राष्ट्रिय रुपमा नेपाली चलचित्रको पहुँच पुर्‍याउनु हो । जसको लागि चर्चित विदेशी कलाकारलाई जोडेका हौँ ।’ चलचित्रमा सन्नीको भूमिकाको बारेमा दर्शकमा उब्जिएको कौतुहलताको जवाफ हलमै मिल्ने उनले बताए ।

यो चलचित्रले जघन्य अपराधको विरुद्दमा लड्नु पर्ने सन्देश प्रवाह गर्ने उनको कथन छ । आफूले निर्माण गरेका चलचित्रमा आफैं प्रमुख भूमिकामा अभिनय गर्दै आएका विक्रमले कथाको माग अनुसार नै आफूले अभिनय गरेको बताउँछन् । ‘पासवर्ड’ मा लगानी गर्नुको कारण बताउँदैै उनी भन्छन्, ‘कथा मन परेपछि लगानी गर्न राजी भएको हुँ । यो कथामा केहि नयाँ गरौँ भन्ने हुटहुटी मनमा जागेपछि निर्माणको निर्णय गरेँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu