गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’ बाट वाहवाही बटुलेका अभिनेता विपिन कार्कीको नयाँ चलचित्र ‘सेल्फी किङ’ को छायांकन सुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको ‘कास्ट एण्ड क्रियू’ सार्वजनिक गरेको थियो ।

‘सेल्फी किङ’ को नामले परिचित एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यो चलचित्रले वाचन गर्नेछ । छायांकनको पहिलो दिन उक्त कलाकार सांस्कृतिक कार्यक्रमका लागि काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गर्दाको यात्राको दृश्य कैद गरिँदैछ ।
काठमाडौंदेखि सोलुखुम्बुसम्म खिचिने चलचित्रको दशैंअघि र दशैंपछि गरि २ सेड्युलमा छायांकन गरिनेछ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मीलगायत काठमाडौंदेखि सोलुखुम्बुसम्मका विभिन्न स्थानमा चलचित्रको छायांकन हुनेछ । ड्रामा प्लस कमेडी भनिएको चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् ।
विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ । भने, अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन । सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसको निर्माण गर्दैछन् ।

निर्देशक विशालले चलचित्रको कथा लेखेका हुन् । यसमा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत, निर्मल लामाको कोरियोग्राफी रहनेछ । चलचित्रका सह-निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् । चलचित्रमा विपिनले हाँस्य कलाकारको भूमिका निभाउनेछन् ।




