जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ को दोस्रो संस्करण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच अवार्ड आयोजक कम्पनी सुर्य कर्पोरेसन लिमिटेडक अध्यक्ष बासुदेव लामिछाने दोस्रो श्रृंखला आउँदो नोभेम्बरमा हुने घोषणा गरे । अभिनय, गायन, नृत्य र हास्य विधामा अवार्ड प्रदान गरिने र अघिल्लो वर्षभन्दा झनै भव्य बनाउने उनले बताए ।
घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, गायक रामकृष्ण ढकाल, अभिनेत्री श्वेता खड्का, गायक हेमन्त शर्मा, अभिनेत्री सरिता लामिछानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा अवार्ड हुने जानकारी गराइयो ।

यसपटक अवार्डमा ६ चलचित्र र ६ संगीतका विधालाई समेटिएको छ । अवार्डको नोमिनेशनमा परेकालाई आयोजककै खर्चमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । अवार्डमा गत वर्ष अर्थात् २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन् । नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।
अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक चलचित्रकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशक लामो फिल्मी यात्रा तय गरेका चलचित्रकर्मीलाई चलचित्रकर्मी सम्मान र एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । गएको वर्ष पनि ‘सूर्य इन्टरनेशनल अवार्ड’ जापानको टोकियोमा नै भएको थियो । पछिल्लो समय नेपाली फिल्म अवार्ड विदेश भूमिमा आयोजना हुने क्रम निकै बढेको छ ।




