थाइल्यान्डमा बसोबास गर्दै आएका नेपाली मुलका महिलाहरूले यस वर्षको हरितालिका तीज भव्य रूपमा मनाएका छन् । नेपाली भाषा संस्कृतिको संरक्षणमा विशेष भूमिका खेल्दै आएका थाई नेपालीहरूले नेपाली गीत, संगीत र संस्कृति देखाउने विभिन्न कार्यक्रम गरी यस वर्षको तीज पर्व मनाएका हुन् ।


थाइल्यान्डको राजधानी बैंककमा थाई नेपाली संघ महिला विभागको आयोजनामा भएको तीज कार्यक्रममा सयौं महिलाहरु सहभागी थिए । कार्यक्रममा थाई नेपाली संघका विभिन्न उपशाखाका महिलाले संस्थागत रुपमा नेपाली धर्म, संस्कृति र परम्परा झल्काउने झाँकी र गीत नृत्य प्रस्तुत गरेका थिए ।


नेपाली गीत संगीतको पर्वको रुपमा थाइल्यान्डका विभिन्न शहरहरुमा तीज र अरु विभिन्न चाडपर्व र उत्सवहरु मनाईदै आएको छ । मौलिक भाषा, रीतिरिवाज र संस्कृतिप्रति प्रेमका रूपमा नेपालीभाषी थाईले तीज र अन्य पर्वहरूलाई विशेष रुपबाट मनाउने गरेको थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले बताए ।




