
काठमाडौं – आगामी शुक्रवार अर्थात् पुस ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को अग्रिम टिकट बुकिङ देशभरका सिनेमा हलहरूमा खुल्ला गरिएको छ। सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाएसँगै देशका प्रमुख मल्टिप्लेक्स चेनहरू क्युएफएक्स, बिग मुभिज र एफक्युब सिनेमाज लगायतले फिल्मको टिकट बिक्री सुरु गरेका हुन्।
सुरुवाती चरणमै देशकै ठुलो चेन क्युएफएक्सले काठमाडौँ उपत्यका र मोफसल गरी कूल २२ शो उपलब्ध गराएको छ भने देशभरका अन्य हलहरू सहित हालसम्म करिब ५९ शोको टुङ्गो लागिसकेको छ। अन्य हलहरूमा पनि शो बाँडफाँडको प्रक्रिया अन्तिम चरणमा रहेकाले बिहीबार साँझसम्म अन्तिम तालिका सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ।
चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेपछि सबै उमेर समूहका दर्शकका लागि सिनेमा हेर्ने बाटो खुलेको हो।
नागराज इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको यस चलचित्रबाट अभिनेता गणेश उप्रेतीले लामो समयपछि नेपाली रजतपटमा पुनरागमन गर्दैछन्। उनी यही चलचित्रको छायाङ्कनका लागि अमेरिकाबाट नेपाल फर्किएका थिए। चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, र प्रियना आचार्य जस्ता स्थापित कलाकारहरूको साथमा नव-कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन्। अर्जुन घिमिरेको कथा र बुद्ध थापाको छायाङ्कन रहेको यो चलचित्रलाई अनिशा सेन्दाङ लिम्बुले निर्माण गरेकी हुन्।




