अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठ केही वर्षयता एकअर्काको प्रेममा रमाइरहेका छन् । प्रायः कलाकारहरु रिलेशनसिप सार्वजनिक गर्दा करिअरलाई असर पर्ने भन्दै ढाकछोप गर्दै हिँड्ने गर्दछन् । तर, सौगात र श्रृष्टि भने यो मामलामा उदार छन् । दुईले प्रेममा रहेको कुरा कहिल्यै अस्वीकार नै गरेनन् । अहिले उनीहरु लिभिङ टूगेदरमा बस्दै आएका छन् ।
प्रेममा रमाउन थालेपछि सौगात र श्रृष्टिले चलचित्रमा पनि एकसाथ काम गरिरहेका छन् । आफू जुन चलचित्रमा हुन्छन् त्यसमा कुनै हालतमा श्रृष्टिलाई प्रवेश गराएरै छाड्छन्, सौगात । प्रेमिका नभए उनी अनुबन्ध भएको चलचित्र छाड्न पनि पछाडि हट्दैनन् । यसको उदाहरण हो । चलचित्र ‘चपली हाइट ३’ । यो चलचित्रमा श्रृष्टि नहुने भएपछि सौगातले अनुबन्ध भएर पनि गरेनन् ।

श्रृष्टि नभए सौगातले अनुबन्ध भएको चलचित्र पनि गर्दैनन् भन्ने अर्को उदाहरण हो- चलचित्र ‘राम राम’ । ‘फन्को’ फेम्ड निर्देशक सुवर्ण थापाले यो चलचित्रको निर्देशन गर्दैछन् । गएको दुई महिना अगाडि सौगातसँग निर्माण टिमको कागजी सम्झौता भएको थियो । तर, उनले अभिनेत्रीमा श्रृष्टि नहुने भएपछि चलचित्रबाट हात झिकेका छन् । यो फिल्मलाई छुट्याएको समय अब उनले मधुसुदन भट्टराईको चलचित्रलाई दिँदैछन्, जसमा अभिनेत्रीमा श्रृष्टि छिन् ।
‘राम राम’ मा सौगातले श्रृष्टिलाई भित्राउन निर्देशक र लेखकलाई कथा नै परिवर्तन गर्न पटक-पटक दबाब दिएको स्रोत बताउँछ । तर, निर्देशक थापाले ‘लक’ भइसकेको स्क्रिप्ट परिवर्तन गर्न तयार नभएपछि उनी चलचित्रबाट बाहिरिएको जानकारी प्राप्त छ । यद्यपि, यस विषयमा निर्माण टिमले मुख खोलेको छैन । चलचित्रमा आफ्नो अपोजिटमा श्रृष्टि नै हुनुपर्ने सौगातको अडानले अहिले धेरै निर्मातालाई रुवाएको छ ।




