असोज २ गतेबाट ‘भद्रगोल’ टिमको ‘सक्किगोनी’ प्रशारण हुने (भिडियो)



नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को टिमले नयाँ हाँस्य टेलिसिरियल लिएर आउने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच ‘भद्रगोल’ टिमले ‘सक्किगोनी’ नाम जुराइएको सिरिजको घोषणा गर्यो । लेनदेनको मामिलामा मिडिया हबसँग असमझदारी उत्पन्न भएपछि यो टिमले नयाँ सिरियल सुरु गर्न लागेको हो ।

धेरै छलफलपश्चात् टेलिसिरियलको नाम ‘सक्किगोनी’ राखिएको कलाकार अर्जुन घिमिरे (पाँडे) ले बताए । उनी भन्छन्, ‘कुमार कट्टेल ‘जिग्री’ ले सिरियलमार्फत् हिट गराइसक्नुभएको थेगो भएकाले नयाँ सिरियलको नाम पनि हामीले त्यही राखेका हौं । अब यो थेगोलाई ब्रान्डको रुपमा लिएर आउन लागेका छौं ।’ यो नाम सिरियलको थिमसँग सम्बन्धित रहेको उनी बताउँछन् ।

‘भद्रगोल’ छाडेर नयाँ सिरियल निर्माण गर्नुको कारणबारे प्रस्ट्याउँदै उनले अगाडि भने, ‘पानीको मुहान सुकेपछि हामीले अर्को मुहानको विकल्प खोजेका हौं । टेलिश्रृंखलालाई रोकेर बस्नुभन्दा नयाँ सिरियलमार्फत् हाम्रो कलाकारिता गर्ने बाटो मात्र खोलेका हौं । ‘सक्किगोनी’ लाई ‘भद्रगोल’ भन्दा उत्कृष्ट बनाउने हाम्रो प्रयास रहनेछ ।’

‘सक्किगोनी’ का कलाकार तथा लेखक कुमार कट्टेल (जिग्री) ले ट्रेडमार्कमा मिडिया हबको नाम ‘भद्रगोल’ नाम दर्ता भएका कारण त्यसको अगाडि वा पछाडि कुनै नयाँ नाम राख्न पनि नपाउने भएपछि ‘सक्किगोनी’ नाममा सिरियल सुरु गर्न लागेको बताए । मिडिया हबसँग असमझदारीका कारण आफ्नो टिम ‘भद्रगोल’ बाट बाहिरिएको उनले पत्रकार सम्मेलनमा स्पष्ट पारे ।

‘सक्किगोनी’ मा ‘भद्रगोल’ मा अभिनय गर्ने प्रायः सबै कलाकारहरुको अभिनय रहनेछ । ‘भद्रगोल’ का श्रृंखला निर्देशक दिपक आर्चायले यसको निर्देशन गर्नेछन् । टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), रक्षा श्रेष्ठ, दिपक आचार्य, शंकर आचार्यलगायत कलाकारको अभिनय रहनेछ । यो सिरियल असोज २ गतेदेखि नेपाल टेलिभिजनमा प्रशारण हुनेछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu