दशैंको विदालाई लक्षित गर्दै असोज १० गते घटस्थापनाबाट देशैभर प्रदर्शनमा आउन लागेको अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’ ले खडेरी लागेको नेपाली चलचित्रको व्यापार उकास्ने अपेक्षा गरिएको छ । यो चलचित्रको एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । शुक्रबार चलचित्रको शिर्ष गीत सार्वजनिक गर्ने तयारीमा छन्, निर्देशक शर्मा ।
प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको निर्माण टिमले प्रचार-प्रसारलाई आक्रामक बनाएको छ । यसबीच, चलचित्रको प्रचार सामाग्रीको रुपमा पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रकी प्रमुख अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मालाई सर्वाधिक स्थान दिइएको छ । चलचित्रको थिमअनुसार पोस्टर तयार पारिएको छ ।

साम्राज्ञी र अंकित रोमान्टिक अवतारमा प्रस्तुत पोस्टरमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि अटाएका छन् । चलचित्रले वैदेशिक रोजगारीको कथा वाचन गरेको छ । चलचित्रमा साम्राज्ञी गाउँले भूमिकामा छिन् ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । शुक्रबार सार्वजनिक हुने चलचित्रको शिर्ष गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ ।




