‘तक्मे बुढा’ को उपनामले परिचित चर्चित हाँस्यकलाकार विल्सन विक्रम राई अभिनीत नयाँ चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा उनी ‘धनकाजी’ को भूमिकामा छन् । ‘कबड्डी’ को अघिल्ला दुई सिरिजमा अभिनेता दयाहाङ राई काजीको भूमिकामा थिए । यसपटक विल्सन पनि काजीको रुपमा चलचित्रमा भित्रिएका छन् । उनी ‘कबड्डी’ सिरिजमा पहिलो पटक आबद्ध हुन पाउँदा खुसी लागेको बताउँछन् ।
अहिले चलचित्रको प्रचारमा गतिलैसँग खटिएका उनले सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा ‘कबड्डी कबड्डी कबड्डी’ मा काम गर्दाको अनुभव साझेदार गरे । ‘कबड्डी’ ब्रान्डसँग आबद्ध हुँदा एकदमै चुनौती महशुस गरेको बताउँदै उनले चलचित्रमा काम गर्दा आफूले धेरै सिक्ने अवसर पाएको बताए । चलचित्रमा आफूलाई दर्शकले फरक भूमिकामा देख्न पाउने उनी बताउँछन् ।
यसअघि उनले अभिनय गरेका चलचित्रमा ‘तक्मे बुढा’ कै ह्याङओभर देखिएको थियो । तर, यो चलचित्रमा त्यसको छाँया समेत नदेखिने उनको दाबी छ । उनी भन्छन्, ‘म जब चलचित्र गर्थेँ तब निर्देशकले ‘तक्मे बुढा’ नै खोज्नुहुँदो रैछ । मैले पनि त्यही दिने रैछु र त्यही चिजमा वाहवाही हुँदो रैछ । तर, यसपटक के सजिलो भयो भने यो चलचित्रमा ‘तक्मे बुढा’ चाहिएको थिएन । धनकाजी चाहिएको थियो ।’

‘कबड्डी कबड्डी कबड्डी’ गरेपछि राम्रोसँग स्क्रिप्ट पढेर मात्र चलचित्र गर्नुपर्ने आफूमा चेत पलाएको उनको भनाई छ । यसअघि आफूले कैयन् पटक पैसा राम्रो पाएपछि राम्रोसँग स्क्रिप्ट नै नहेरी चलचित्र गरेको उनी सुनाउँछन् । ‘हामी चेकको जिरो चाहिँ राम्रोसँग पढ्छौं तर कथाको एउटा अक्षर पनि राम्रोसँग पढ्दैनौं’, उनले भने- ‘तर यो चलचित्रमा त म सेटमा गएर पनि कथा पढ्थेँ, जुन यसअघि मैले कहिल्यै गरेको थिइनँ ।’
के त्यसो भए कलाकारहरु पैसामुखी भएका हुन् ? पत्रकारको प्रश्नमा उनले भने, ‘म अरु कलाकारको त भन्न सक्दिनँ । तर, म चाहिँ पैसामुखी भएको रहेछु । पहिला म चेकमा कतिवटा जिरो छ भन्ने मात्र हेर्थेँ तर कथा राम्रोसँग पढ्दिन थिएँ । तर, ‘कबड्डी कबड्डी कबड्डी’ पछि भने म सिरियस भएको छु । चलचित्र गर्नुअघि कथा पढ्नै पर्ने रैछ भन्ने महशुस भएको छ ।’
यो चलचित्रमा उनीसँगै दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामबाबु गुरुङ निर्देशित चलचित्रले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । शैलेन्द्र डि. कार्कीले चलचित्र खिचेका हुन् ।




