अभिनेता सौगात मल्लले आफूले अभिनय गर्ने चलचित्रमा अभिनेत्रीमा प्रेमिका श्रृष्टि श्रेष्ठलाई लिन निर्माता/निर्देशकलाई दबाब दिने गरेको चर्चा छ । उनले श्रृष्टि नभएपछि अनुबन्ध भएको चलचित्र समेत छाडेका उदाहरण छन् । चलचित्र ‘चपली हाइट ३’ र ‘राम राम’ मा उनले आफ्नो अपोजिटमा प्रेमिका नहुने भएपछि हात झिकेका थिए । तर, आफूले अहिलेसम्म कुनै चलचित्रमा अभिनेत्रीमा श्रृष्टिलाई सिफारिस नगरेको उनको दाबी छ ।
चलचित्र ‘मासु भात’ र ‘पोइ पर्यो काले’ मा प्रेमिकासँग स्क्रिन साझेदारी गरिसकेका उनी आफूलाई अफर हुने चलचित्रमा निर्माता/निर्देशकले नै अभिनेत्रीमा श्रृष्टिलाई लिने इच्छा व्यक्त गर्ने गरेको बताउँछन् । बजारको हल्लालाई खण्डन गर्दै ठूलोपर्दा टिभीसँगको कुराकानीमा उनले भने, ‘म कहिल्यै कलाकार छनोटमा चलचित्रको टिमलाई इन्टरफेयर गर्दिनँ । म अभिनय गर्ने मान्छे हुँ । चलचित्रमा कुन भूमिकामा कस्तो कलाकार चाहिन्छ त्यो निर्देशकले छनोट गर्ने कुरा हो ।’

श्रृष्टिलाई चलचित्रमा सिफारिस गर्ने विषयमा उनी अगाडि भन्छन्, ‘हामी प्रेम सम्बन्धमा छौं भन्ने सबैलाई थाहा छ । त्यसैले मलाई फिल्म अफर गर्दा निर्माता र निर्देशकले अभिनेत्रीमा श्रृष्टि राख्दा कस्तो होला भनेर सुझाव माग्नुहुन्छ । मैले हुन्छ भनिदिन्छु । तर, कुनै हालतमा उसलाई राख्नैपर्छ नभए म चलचित्र नै गर्दिनँ भनेर कहिल्यै भनेकोे छैन । र, भन्दिनँ पनि ।’ तर, उनी श्रृष्टिसँग चलचित्रमा सँगै काम गर्दा खुसी लाग्ने बताउँछन् ।
उनले ‘चपली हाइट ३’ र ‘राम राम’ श्रृष्टि नभएकाले नभइ आफ्नो काम व्यस्तताले छाड्नु परेको पनि प्रस्टाए । श्रृष्टिले पनि सौगातको सिफारिसमा आफूले काम पाइरहेको हल्लाको खण्डन गरिन् । प्रेम सम्बन्धमा रहेका कारण आफूहरुलाई एउटै फिल्ममा लिन निर्माता/निर्देशक स्वयंले चाहने उनको भनाई छ । अर्को वर्ष विवाह गर्ने सुरसारमा रहेका सौगात र श्रृष्टि चाँडै मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्दैछन् ।
भिडियो :-




