‘लप्पन छप्पन २’ फस्टलुकमा यस्ता देखिए सौगात र अर्पण



आउँदो फागुन ९ गते अर्थात् महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अभिनेता द्वय सौगात मल्ल र अर्पण थापालाई मात्र स्थान दिइएको चलचित्रको सार्वजनिक पोस्टर आकर्षक बनाइएको छ । पोस्टरमा सौगात र अर्पणलाई निकै फरक लुक्समा देख्न सकिन्छ । अभिनेता अर्पणको हेयर स्टाइलले ध्यान खिच्न सक्छ ।

यो चलचित्रको अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण ‘लप्पन छप्पन २’ मा नेगेटिभ रोलमा छन् । पोस्टरमा देखिएको यी दुईको फरक लुक्सले दर्शकमा चलचित्रप्रति उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ । पोस्टरको पृष्ठभूमिमा चलचित्रका केही कलाकारहरु फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावरलाई हेर्दै गरेको देख्न सकिन्छ ।

गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’ ले बक्सअफिसमा खासै राम्रो व्यापार गर्न सकेको थिएन । तर, निर्माण टिमले चलचित्रको अफलताको बावजूद पनि दोस्रो श्रृंखला निर्माण गर्ने चुनौती मोलेको छ । केही दिनमा यो चलचित्रको बाँकी छायांकन अष्ट्रेलियामा हुँदैछ । चलचित्रका निर्देशक मुकुन्द भट्ट हुन् । अघिल्लो पार्ट पनि उनले नै निर्देशन गरेका थिए ।

‘लप्पन छप्पन २’ मा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाएका छन् । फिल्ममा सौगात र अर्पणसँगै दयाहाङ राई, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमारलगायतका कलाकारहरुको पनि अभिनय छ । पुरुषोत्तम प्रधान छायाँकार रहेको चलचित्रलार्ई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu