राजधानीमा थपियो अर्को मल्टीप्लेक्स, बानेश्वरमा ‘वान सिनेमाज’ सञ्चालनमा



बानेश्वरमा रहेको नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले ‘वान सिनेमाज’ नाम दिइएको हलको उद्घाटन गरेका छन् । अहिले चलचित्र हेर्नका लागि स्तरिय हल दर्शकको रोजाइ बन्दै गएको बताउँदै उनले यसले नेपाली चलचित्रको विकासमा पनि ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

फोके प्रविधि अपनाइएको ‘वान सिनेमाज’ हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् । यो हलमा शुक्रबारबाट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन हुनेछ । बिहीबार हलको अवलोकन गर्न चलचित्रर्मी तथा पत्रकारहरुको बाक्लो भीड लागेको थियो । रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगरलगायतका कलाकारहरुले हल अवलोकन गरेका थिए ।

सबैले हलको डिजाइनको प्रशंसा गरे । हललाई अन्तर्राष्ट्रियस्तरको बनाइएको छ । यो हल शुक्रबारबाट सञ्चालनमा आउने भए पनि मल भने औपचारिक रुपमा अर्को साताबाट व्यसायिक सञ्चालनमा आउने सञ्चालक मध्येका एक प्रभु शमशेरले बताए । दशक अगाडि आइप्लेक्स मल निर्माण भएको स्थानमा शिवदर्शन हल थियो । जसलाई भत्काएर यो मल निर्माण गरिएको हो ।

बिहीबार चलचित्रकर्मी र पत्रकारलाई हलमा थ्रीडी र टुडीको भिजुअल डेमो पनि देखाइएको थियो । हलमा सुतेर चलचित्र हेर्न चाहने दर्शकका लागि त्यही अनुरुपको सिट पनि राखिएको छ । हलका सञ्चालक तथा चलचित्र निर्माता प्रभुका छोरा प्रज्वल राणाले दर्शकलाई फरक रुपमा चलचित्र हेर्ने अनुभव लिनका लागि यस प्रकारको सिटको राखिएको बताए ।


हल अवलोकन गर्न पुगेका आगन्तुकले कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईले डिजाइन गरेको फुड कोर्ड निकै रुचाएका थिए । चाँडै अभिनेत्री जसिता र अभिनेता धिरजलाई लिएर चलचित्र ‘आइ एम ट्वान्टिवान’ निर्माण गर्न लागेको निर्माता प्रज्वल राणाले आइप्लेक्सले निकट भविष्यमा चलचित्र वितरण र ‘वान सिनेमाज’ को फ्रेन्चाइज विस्तार गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu