मौलिक कथा पस्कन सिपालु मानिने रामबाबु गुरुङ निर्देशित यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ संविधान दिवसको सार्वजनिक विदा पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । यो चलचित्रले देशभरका मल्टीप्लेक्स र सिंगल दुबै स्क्रिनमा आफ्नो बलियो उपस्थिति जनाएको छ । मल्टीप्लेक्समा चलचित्रले सर्वाधिक सोज पाएको छ, जुन यसअघि कुनै नेपाली चलचित्रले पाएका थिएनन् ।
ट्रेलर र गीतसंगीतले चलचित्रको राम्रो हाइप निर्माण गरेका कारण त्यसको प्रभाव बक्सअफिसमा पर्ने अनुमान गरिएको छ । चलचित्रप्रति दर्शकमा देखिएको चासो र मल्टीप्लेक्सले बाँडेको सोज हेर्दा ‘कबड्डी कबड्डी कबड्डी’ ले बम्पर ओपनिङ गर्ने संकेत गर्छ । प्रदर्शनको शुक्रबार र शनिबार सार्वजनिक विदा भएकाले चलचित्रले दुई दिनमा २ करोड ५० लाखमाथि व्यापार गर्ने ट्रेड एनालिस्टको पूर्वानुमान छ । आइतबारबाट भने ‘वर्ड अफ माउथ’ मा भर पर्नेछ ।

‘कबड्डी २’ मा प्रेममा राजनीति घुसाएका निर्देशक गुरुङले यसपटक स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेका छन् । ‘कबड्डी ४’ मा ‘काजी’ लाई मुक्ति दिने गरि उनले ‘कबड्डी कबड्डी कबड्डी’ लाई त्यही अनुसार विट मारेका छन् । चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ ।
जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि नेपाली चलचित्रको व्यापार पूरै सुस्ताएको छ । आश गरिएका फिल्म समेत बक्सअफिसमा खरो उत्रन सकेनन् । हरेक हप्ता निर्माताको करोडौंको लगानी बालुवामा पानी खन्याएझैँ भइरहेको अवस्थामा ‘कबड्डी कबड्डी कबड्डी’ ले खडेरी लागेको नेपाली चलचित्रको व्यापार चरम विन्दूमा पुर्याउने अपेक्षा गरिएको छ । यो चलचित्रले सोलो रिलिज पाएका कारण पनि राम्रो व्यापार गर्ने चलचित्रकर्मीको विश्वास छ ।




