सेलिब्रेटीले रुचाए ‘कबड्डी कबड्डी कबड्डी’, कसले के भने ? (भिडियोसहित)



रामबाबु गुरुङ निर्देशित यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । चलचित्रलाई प्रदर्शनको दिन नै सार्वजनिक विदा पाएको छ । शुक्रबार संविधान दिवसको सार्वजनिक विदा छ । प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रको राजधानीको जय नेपाल हलमा भव्य प्रिमियर राखिएको थियो । जहाँ पत्रकार र चलचित्रकर्मीहरुको घुइँचो लागेको थियो । प्रिमियरमा चलचित्रमा अभिनय गर्ने प्रायः सबै कलाकारहरु उपस्थित थिए, अभिनेता कर्माबाहेक ।

चलचित्रकर्मीले चलचित्रलाई अर्गानिक भनेका छन् । ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले फिल्मले सिक्वेलको साख जोगाएको भन्दै निर्देशक गुरुङको निर्देशकिय क्षमताको प्रशंसा गरिन् । उनले भनिन्, ‘चलचित्र एकदमै रमाइलो बनेको छ । चलचित्रले बाँधेर राख्छ । यत्तिको चलचित्र बनाउने हो भने दर्शकले गाली गर्नुहुन्न भन्ने मलाई लाग्छ । चलचित्र पूरापुर पैसा असुल छ ।’ उनको छेवैमा रहेका अभिनेता संजोग कोइरालाले पनि चलचित्र राम्रो बनेको र दर्शकलाई एकपटक हेर्न आग्रह गरे ।

अभिनेत्री वर्षा राउतले आफूलाई चलचित्र इन्टरटेनिङ लागेको बताइन् । चलचित्रको प्रशंसा गर्दै उनले भनिन्, ‘कलाकारको अभिनय एकदमै राम्रो छ । कथा उस्तै बलियो छ । ‘पन्चलाइन’ पनि गजब छ । रामबाबु दाईको निर्देशन प्रशंसायोग्य छ ।’ मोडल एलिशा राईले पनि अभिनेत्री वर्षाकै कुरामा सहमति जनाइन् । यस्तै, हास्यकलाकार सन्दीप क्षेत्रीले धेरैपछि राम्रो चलचित्र हेर्न पाएकोमा खुसी व्यक्त गरे । ‘कबड्डी कबड्डी कबड्डी’ राम्रो मात्र नभएर धेरै राम्रो बनेको बताउँदै उनले निर्देशक गुरुङको मेहनतको प्रशंसा गरे ।


चलचित्र ‘पारस’ बाट निर्देशनमा हात हाल्न लागेका ‘लुट’ निर्माता माधव वाग्लेले ‘कबड्डी’ सिरिजकै उत्कृष्ट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रहेको बताए । यो चलचित्रले ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई पनि ठूलो सहयोग पुर्‍याउने उनको विश्वास छ । निर्देशक रामबाबु गुरुङसँग टिमअप गरेर चलचित्र ‘सेन्टीभाइरस’ निर्माण गरिरहेका हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले फिल्मले दर्शकको अपेक्षालाई पूरा गर्ने बताए ।


‘चलचित्र हेरुन्जेल एकदमै रमाइलो छ । ‘कबड्डी’ सिरिजमाथि दर्शकको जुन प्रकारको अपेक्षा हुन्छ र छ त्यसमा चलचित्र खरो उत्रिएको मैले अनुभूती गरेको छु । निर्देशक रामबाबु दाईले जसरी हरेक चलचित्रमा निर्देशकिय क्षमता प्रस्तुत गर्दै आइरहनुभएको छ त्यो यसमा पनि देखिन्छ’, उनले भने । उनकी श्रीमति तथा हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले चलचित्रले मौलिकपन बोकेको बताइन् । दर्शकले धेरैपछि राम्रो चलचित्र हेर्न पाउने उनको भनाई छ ।


चलचित्रकर्मीहरुको प्रतिक्रिया बुझेपछि दंग देखिएका अभिनेता दयाहाङ राईले आफूहरुले चलचित्रमार्फत् भन्न खोजेको कुरा पर्दामा देखिएकोमा खुसी व्यक्त गरे । सोल्टिनी (उपासना सिंह ठकुरी) ले सिद्धान्त डगमगाउने गरि अंगालो हालेको सिनमा चलचित्र हेर्दा आफू निकै हाँसेको उनले बताए । ‘कबड्डी ३’ मा फ्रेस रोलमा प्रवेश भएका अभिनेता विल्सन विक्रम राईले आगन्तुक पाहुनाबाट पाएको प्रतिक्रियाले हौसला मिलेको बताए ।


चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय छ । निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले चलचित्रको कथा तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो चलचित्रमा कोरियोग्राफी रेनशा वान्तवा राई र सम्पादन सुरेन्द्र पौडेल र निमेष श्रेष्ठको छ ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu