संविधान दिवसको सार्वजनिक विदा पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको पहिलो दिन देशभर आक्रामक व्यापार गरेको रिपोर्ट प्राप्त छ । भने, चलचित्र हेरेका दर्शक सन्तुष्ट भएर निस्किएका छन् । शुक्रबार यो चलचित्रले देशभर हाउसफुल व्यापार गर्दै डेढ करोडको आँकडा छोएको छ । शनिबार अझ राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।
राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा कब्जा जमाएको यो चलचित्रले शुक्रबार क्यूएफएक्स चेनमा बिहानदेखि साँझसम्म ९५ प्रतिशतको आसपासमा अकुपेन्सी कायम गरेको जानकारी प्राप्त छ । क्यूएफएक्सले आफ्नो देशभर छरिएका ९ स्टेशनमा शुक्रबारका लागि कुल ६२ सोज बाँडेको थियो । राजधानीका पाँच स्टेशनमा चलचित्रलाई बाँडिएको ३८ सोज शुक्रबार सबै हाउसफुल भए । भने, मोफसलका स्टेशनमा पनि दर्शक भरिभराउ देखिए ।
शुक्रबार चलचित्र हेर्न हलमा उत्रिएको भीड देखेर शनिबारका लागि क्यूएफएक्सले तीन सोज बढाएको छ । राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्सहरुले पनि शनिबारका लागि चलचित्रको सोजमा वृद्धि गरेका छन् । एफक्यूब सिनेमाजले चलचित्रलाई २ सोज बढाउँदा विग सिनेमा, सिडिसी सिनेमा र क्यूजले समान्तर १/१ सोज थपेका छन् । वितरक मनोज राठीले चलचित्रले यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्न सफल भएको दाबी गरेका छन् ।

उनले खुसीको भावमा भने, ‘चलचित्रले ‘सुपर ग्राण्ड ओपनिङ’ गरेको छ । यस वर्षको सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ । शुक्रबार बिहानैदेखि मल्टीप्लेक्स र सिंगल थिएटर सबैतिर चलचित्र हाउसफुल रह्यो । दुबैतर्फ चलचित्रको व्यापार बराबर छ । मोफसलमा पनि चलचित्रले गजबको व्यापार गरेको छ । ‘वर्ड अफ माउथ’ राम्रो भएका कारण चलचित्र लामो रेसको घोडा बन्ने हाम्रो विश्वास छ ।’
मध्यम वर्गिय दर्शकको सर्वाधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा, सिद्धार्थलगायतका सिंगल थिएटर र मोफसलका प्रमुख स्टेशनमा पनि शुक्रबार चलचित्रको टिकट हारालुछ भएको हल सञ्चालकले बताएका छन् । चलचित्र हेर्नका लागि हलमा १६ वर्षदेखि ३५/४० वर्ष उमेर समुहका दर्शकको भीड देखिएको छ । चलचित्रले पहिलो दिन १ करोड ४७ लाखको व्यापार गरेको वितरक कम्पनी स्टेशन फाइभले फेसबुकमार्फत् जानकारी दिएको छ ।
चलचित्रले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यो चलचित्रले नजिकिँदै गरेको दशैं विदाको फाइदा पनि उठाउने अनुमान फिल्म पण्डितहरुको छ ।




