छिट्टै चलचित्र क्षेत्रमा गोविन्द केसीको जन्म हुनेवाला छ : दीपकराज



कलाकार तथा निर्माता दीपकराज गिरीको समहुले निर्माण गरेको नयाँ चलचित्र ‘छ माया छपक्कै’ असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । शुक्रबार यो चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । जहाँ निर्माता गिरी केही आक्रोशित देखिए । उनले नेपालमा फिल्म बनाउनभन्दा प्रदर्शन गर्न निकै पापड बेग्नु पर्ने तीतो यथार्थ पनि सुनाए ।

गत वर्ष ‘छक्का पञ्जा ३’ प्रदर्शनको एक हप्तामा ‘जय भोले’ आउँदा व्यापारमा परेको असर स्मरण गर्दै उनले भने, ‘गत वर्ष हाम्रो चलचित्रले राम्रो व्यापार गर्दागर्दै पनि चलचित्र ‘क्ल्यास’ हुँदा धेरै शो गुमाउनु परेको थियो । वर्षमा एउटा चलचित्र बनाउने निरीह निर्माताले यस विरुद्ध लड्न सक्दैन ।’ हिन्दी चलचित्र ‘वार’ सँग डराएर उनले ‘छ माया छपक्कै’ लाई असोज २४ मा प्रदर्शन गर्न लागेको भन्दै चर्कै रुपमा टिका-टिप्पणी भइरहेको छ । उनले यस विषयमा पनि आफ्नो भनाई राखे ।

उनले भने, ‘मलाई नेपाली र हिन्दी चलचित्रसँग डर लाग्दैन । मलाई चलचित्रको राजनीति गर्ने मान्छेसँग डर लाग्छ ।’ उनले आफ्नो भनाई पूरा गर्न नपाउँदै पत्रकारले प्रश्न गरे- ‘तपाईं पनि राजनीति गर्न सिपालु खेलाडी होइन र ?’ उनले जवाफमा भने, ‘म प्रति रक्षात्मक राजनीति गर्छु ।’ दीपकराजले अहिले नेपाली चलचित्रमा एउटा क्रान्तिको आवश्यकता रहेको र त्यो दिन आउन ढिलो नभएको बताए ।

‘चलचित्र बनाएर हलसम्म ल्याउन कति गाह्रो हुन्छ भन्ने सबै निर्माताले बुझेका छन् । तर, कोही बोल्न सकेका छैनन् । म बारम्बार हिन्दी चलचित्रको विरुद्ध बोलिरहेको छु । मलाई धेरैले यसले किन हिन्दी चलचित्रको विरोध गर्छ, आफ्नो चलचित्र चलाएर गए भइहाल्यो नी भन्ने गरेका छन् । इन्डस्ट्री खत्तम हुने नै चुप लागेर हो । त्यसैले म बोल्छु’, उनी केही आक्रोशित देखिए । आफ्नो चलचित्र चलाएर खुरुखुरु घर जाने निर्माताकै कारण चलचित्र इन्डस्ट्री विग्रिएको उनको जिकिर छ ।

आफू नेपालमा हिन्दी चलचित्रको बढ्दो आक्रमणकोे विरुद्धमा सधैं आवाज उठाउने बताउँदै उनले अगाडि भने, ‘म हिन्दी चलचित्रको विरुद्धमा आवाज उठाउन छाड्दिनँ । बरु, यो क्षेत्र छाडेर घर जान तयार छु तर बोल्न छाड्दिनँ । नेपाली चलचित्र र हिन्दी चलचित्रलाई समान हैसियत दिइन्छ भने म नेपालमा छु कि भारतको मजफपुरमा छु भन्नेमा सोच्न बाध्य हुन्छु ।’

निर्माता गिरीले नेपाली चलचित्र क्षेत्रमा छिट्टै गोविन्द केसी जन्मिने पनि बताए । आक्रोशित मुद्रामा उनले भने, ‘हिन्दी चलचित्रको विरुद्धमा बोल्दा मलाई यसरी नै हेपिन्छ र पेलिन्छ भने छिट्टै नेपाली चलचित्र क्षेत्रमा गोविन्द केसीको जन्म हुनेवाला छ । तपाईंहरु सबै आउनुहोला ।’ ‘तपाईं अनशन बस्न लाग्नुभएको हो ?’ पत्रकारको प्रश्नमा उनले भने, ‘अहिलेको अवस्था हेर्दा त्यस्तै देखिन्छ । हिन्दी चलचित्रको विरुद्धमा बोल्दा मलाई यसरी नै पेलिन्छ भने त्यो दिन आउनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu