संविधान दिवसको अवसर पारेर शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले शनिबार पनि जबरजस्त व्यापार गरेको छ । दर्शनको पहिलो दिन १ करोड ४७ लाख कमाउँदै वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो चलचित्रले शनिबार बिहानैदेखि सिंगल र मल्टीप्लेक्समा आक्रामक व्यापार गरेको वितरकले बताएका छन् ।
शनिबार चलचित्रले १ करोड ७० लाखको आसपासमा व्यापार गर्ने अनुमान गरिएको छ । राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्समा कब्जा जमाएको यो चलचित्र शनिबार देशैभर शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको वितरक मनोज राठीले जानकारी दिएका छन् । एकलभन्दा मल्टीप्लेक्समा चलचित्रको कलेक्सनमा उछाल छ । पहिलो विकेन्डबाटै चलचित्रको लगानी सुरक्षित हुने देखिएको छ ।

राजधानीमा सञ्चालित क्यूएफएक्स, एफक्यूब, विएसआर, सिडिसी, क्यूज, विगलगायतका मल्टीप्लेक्सहरुमा उच्च सोज पाएको चलचित्र हेर्न शनिबार दर्शकको ठूलो घुइँचो रहेको हल सञ्चालकले बताएका छन् । मध्यम वर्गिय दर्शकको अत्याधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका सिंगल थिएटरमा पनि चलचित्रले शनिबार दर्शकको अभाव झेल्नु परेको छैन । सबै सोजमा दर्शकको ठूलो चाप देखिएको छ ।
निर्मातालाई ठूलो शेयर हात पर्ने गोपीकृष्ण हलले शनिबार दिउँसो २ बजेको सोजमा यो चलचित्रलाई ५ वटा हल उपलब्ध गराएको छ । र, सबै हल हाउसफुल भएको गोपीकृष्णका तिर्थ पौडेलले जानकारी दिए । धेरैपछि हलमा दर्शकको यसप्रकारको भीड देखिएको उनी बताउँछन् । मोफसलका प्रमुख स्टेशनमा पनि शनिबार बिहानैदेखि फिल्मले आक्रामक व्यापार गरेको रिपोर्ट प्राप्त छ । चलचित्र हेर्न सबै उमेर समुहका दर्शक हल पुगेका छन् ।
देशैभर फिल्मको आक्रामक व्यापारबाट खुसी भएको ‘कबड्डी कबड्डी कबड्डी’ टिमले शनिबार राजधानीका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्यो । दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराललाई साथ लिएर निर्देशक गुरुङ शनिबार दिउँसो गोपीकृष्ण हल पुग्दा दर्शकले न्यायो स्वागत गरे । चलचित्रका कलाकारसँग सेल्फी खिच्न दर्शकको थामिनसक्नु भीड लागेको थियो ।

चलचित्र हेरेर निस्किएका दर्शकले अभिनेता दयाहाङसँग ‘काजीको कहिल्यै बिहे नहुने भयो’ भन्दै गुनासो गरेका थिए । तर, दर्शकले फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । गोपीकृष्णको बालकुनीमा उभिएर कलाकारहरुले दर्शकसँग चलचित्रको गीत पनि गाए । शनिबार आफ्नो जन्मदिन मनाइरहेकी अभिनेत्री उपासनाले हलमै चलचित्रको टिमसँग केक काटेर जन्मदिन पनि सेलिब्रेट गरिन् । उनले पहिलो केक दयाहाङलाई खुवाएकी थिइन् ।
उपासनाले जन्मदिनमा दर्शकबाट पाएको मायाले एकदमै खुसी भएको बताइन् । यो चलचित्रमा उनको अभिनयको निकै प्रशंसा भइरहेको छ । वर्ड अफ माउथ’ राम्रो भएका कारण ‘कबड्डी कबड्डी कबड्डी’ बक्सअफिसमा लामो रेसको घोडा बन्ने देखिएको छ । पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाललगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रले चौथो सिरिजका लागि बाटो खोल्दै विट मारेको छ ।




