अंकित भन्छन्, ‘म साम्राज्ञीको फ्यान’



अभिनेत्री साम्राज्ञी आरएल शाहको नयाँ चलचित्र ‘रातो टीका निधारमा’ यही असोज १० गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी गाउँले युवतीको भूमिकामा देखिएकी छन् । यो चलचित्रलाई लिएर निकै उत्साहित रहेकी उनले शनिबार विभिन्न शहरबाट आएका आफ्ना तीस ‘डाइहार्ट फ्यान’ सँग भेट गरेकी छन् । ‘रुटिन अफ नेपाल बन्द’ ले फेसबुकमा ‘साम्राज्ञीलाई भेट्न चाहने को ?’ भन्ने एउटा कन्टेस्ट गरेको थियो, जसमा १० हजारले उनलाई भेट्ने इच्छा देखाएका थिए ।

त्यसमध्ये छानिएका तीस जनाले शनिबार राजधानीको कमलपोखरीमा रहेको डिसिएनको कार्यालयमा साम्राज्ञीसँग भेट गरे । आफ्नो ‘फेभरेट एक्ट्रेस’ सँग पहिलो पटक प्रत्यक्ष भेट गर्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे । सबैले साम्राज्ञीको अभिनयको आफूहरु ठूलो प्रशंसक रहेको र कुनै चलचित्र नछुटाइ हेर्ने गरेको बताए । चितवनबाट आएकी एक युवतीले साम्राज्ञीको अभिनय र ड्रेसिङ सेन्सको आफू ठूलो प्रशंसक रहेको बताइन् ।

आफूलाई भेट्नकै खातिर विभिन्न शहरबाट आएका फ्यानहरुसँग भेट्दा साम्राज्ञी पनि कम खुसी देखिएकी थिइनन् । उनले आफूलाई दर्शकसँग प्रत्यक्ष भेट्न मन लाग्ने भएता पनि विभिन्न कारणले सम्भव नहुने बताइन् । फ्यानहरुको यस प्रकारको मायाले राम्रो चलचित्र गर्न आफूलाई सधैं हौसला मिल्ने उनी बताउँछन् । उनले फ्यानसँग ‘रुटिन अफ नेपाल बन्द’ को तर्फबाट ल्याइएको केक पनि काटिन् । र, सबैलाई आफ्नै हातले केक खुवाइन् ।


साम्राज्ञीले ‘रातो टीका निधारमा’ का अभिनेता अंकित शर्मालाई पनि आफ्ना ‘डाइहार्ट फ्यान’ माझ चिनाइन् । उनले आफूलाई जस्तै अंकितलाई पनि माया र सपोर्ट गर्न फ्यानलाई आग्रह गरिन् । अंकितले पनि आफू साम्राज्ञीको ठूलो फ्यान रहेको बताए । ‘म साम्राज्ञीको प्रेजेन्सको नै फ्यान हुँ’, उनले भने । कार्यक्रममा साम्राज्ञी र अंकित दुबैले आफ्नो हस्ताक्षर रहेको चलचित्रको टिसर्ट र पोस्टर मायाको चिनो स्वरुप फ्यानलाई प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu