‘कबड्डी ३’ को कमाई २ दिनमा ३ करोड २५ लाख



शुक्रबारबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले जेठपछि सुस्ताएको नेपाली चलचित्रको व्यापार चलायमान बनाएको छ । दुई दिनमा बक्सअफिसमा ऐतिहासिक कमाई गरेको यो चलचित्रले पहिलो दिन १ करोड ४७ लाख कमाउँदै यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्‍यो भने बक्सअफिसमा पहिलो दिन यो अंक जोड्ने पहिलो नेपाली चलचित्र समेत बनेको छ । यसअघि ‘छक्का पञ्जा ३’ को नाममा यो रेकर्ड थियो ।

दोस्रो दिन (शनिबार) पनि ‘कबड्डी कबड्डी कबड्डी’ प्रति दर्शकको क्रेज उस्तै जबरजस्त देखियो । वितरक कम्पनी ‘स्टेशन फाइभ’ ले फेसबुकमार्फत् दिएको जानकारी अनुसार, चलचित्रले शुक्रबारको तुलानामा शनिबार ३१ लाख बढी व्यापार गरेको छ । अर्थात्, चलचित्रको शनिबारे व्यापार १ करोड ७८ लाख छ । चलचित्रको दुई दिने कलेक्सन ‘प्लस’ गर्ने हो भने ३ करोड २५ लाख हुन्छ । जुन यसअघि कुनै चलचित्रले बक्सअफिसमा दुई दिनमा यो अंक जोड्न सकेका थिएनन् ।

वितरक कम्पनी ‘स्टेशन फाइभ’ ले चलचित्रको दुई दिने कलेक्सन ऐतिहासिक रहेको दाबी गरेको छ । मल्टीप्लेक्सले बढाएको सोजका कारण शुक्रबारको तुलानामा शनिबार चलचित्रको व्यापार बढेको हो । चलचित्रको कलेक्सन एकलभन्दा मल्टीप्लेक्समा उछाल छ । सिंगल डे कलेक्सनमा रेकर्ड कायम गरेको चलचित्रले आइतबार पनि दर्शकको राम्रो साथ पाएको वितरकले बताएका छन् । चलचित्रको आइफटाइम कलेक्सन १० करोड ग्रस हुने अनुमान गरिएको छ ।

ब्रान्ड बनेको सिरिज र नाम चलेका कलाकारहरुको अभिनय रहेका कारण इनिसियल बक्सअफिस आक्रामक रहेको ‘कबड्डी कबड्डी कबड्डी’ लाई दर्शकले राम्रो रहेको प्रतिक्रिया दिए पनि समीक्षकले भने खासै रुचाएका छैनन् । हुनत, नेपालको सन्दर्भमा दर्शक र समीक्षकको मनोविज्ञान अहिलेसम्म मेल खान सकेको छैन । समीक्षकले वाहवाही गरेको चलचित्र दर्शकले रिजेक्ट गरेको अवस्था छ भने दर्शकले मनपराएका चलचित्र समीक्षकले प्रशंसा गरेका उदाहरण कम छन् ।

चलचित्रले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यो .ले नजिकिँदै गरेको दशैं विदाको फाइदा पनि उठाउने अनुमान फिल्म पण्डितहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu