क्यानडाको टोरन्टोमा आयोजना हुनेगरी ‘सिने स्टार अवार्ड २०२०’ घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आयोजकले आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरेको छ । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।

कार्यक्रममा बोल्दै हिल्सा इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक प्रतिक बुढाथोकीले ‘पर्यटन बर्ष २०२०’ लाई लक्षित गरेर क्यानडामा अवार्ड आयोजना गर्न लागेको बताए । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा अवार्डले महत्त्वपुर्ण भूमिका खेल्ने उनको विश्वास छ । दैनिक १ लाख बढि पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’ मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता पनि आयोजकले गरेको छ ।
नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुने अवार्डमा १२ विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ । जनवरी ३१ तारिखमा हुने अवार्डमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी निर्णायकमा रहेको छन् ।
प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन् । विदेशी भूमीमा आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियान (पर्यटन वर्ष) मा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ ।

अवार्ड कार्यक्रमलाई शुभकामना प्रदान गर्न कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बोर्ड पुर्व अध्यक्ष तथा बरिष्ठ कलाकार कृष्ण मल्ल, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, अभिनेता सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधानलगायत उपस्थित थिए । चाँडै ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिनेछ ।


