शुक्रबारबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को कमाई कम हुने छाँटकाँट देखिएको छ । प्रदर्शनको दुई दिनमा ३ करोड २५ लाख कमाएको चलचित्रले आइतबार बिना विदामा पनि जबरजस्त व्यापार गरेको छ । आइतबार १ करोड ७ लाख कमाउँदै चलचित्रले तीन दिनमा कुल ४ करोड ३२ लाख छापेको छ । वितरक कम्पनी स्टेशन फाइभले यसको जानकारी दिएको हो ।
शनिबारको तुलानामा ३३.६४ प्रतिशतले चलचित्रको कलेक्सनमा गिरावट आएपनि आइतबार बिना विदामा बक्सअफिसमा १ करोडको कमाई गर्नु ठूलो अंक हो । मल्टीप्लेक्समा पाएको सर्वाधिक सोज र बलियो ‘वर्ड अफ माउथ’ को प्रभाव चलचित्रको कलेक्सनमा परेको देखिन्छ । विकेन्डमै लगानी सुरक्षित भएर चलचित्र नाफाको बाटोमा दौडिएको छ । चलचित्रको सफलताबाट निर्माण टिम निकै खुसी छ ।

‘कबड्डी कबड्डी कबड्डी’ ले पहिलो हप्ताको अन्त्यसम्म ७ करोडको आँकडा छुने फिल्म पण्डितहरुको अनुमान छ । चलचित्रले सोमबार पनि दर्शकको राम्रो साथ पाएको वितरकले बताएका छन् । सोमबार चलचित्रले बक्सअफिसमा ६० लाखमाथि छाप्ने अनुमान गरिएको छ । यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो चलचित्रको कलेक्सन एकलभन्दा मल्टीप्लेक्समा उछाल छ ।
चलचित्रको इनिसियल बक्सअफिस आक्रामक हुनुमा ब्रान्ड बनेको सिरिज, गीतसंगीतले निर्माण गरेको हाइप र नाम चलेका कलाकारहरुको अभिनयलाई प्रमुख कारण मानिएको छ । तर, यो चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया बटुल्न सफल भए पनि समीक्षकले खासै रुचाएका छैनन । ‘कबड्डी’ कै ह्याङओभरबाट चलचित्र ग्रस्त रहेको भन्दै निर्देशक तथा पटकथाकार गुरुङको आलोचना भइरहेको छ ।
चलचित्रले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । शैलेन्द्र डि. कार्कीले खिचेको चलचित्रले नजिकिँदै गरेको दशैं विदाको फाइदा पनि उठाउने अनुमान फिल्म पण्डितहरुको छ ।




