अंकित भन्छन्, ‘निर्देशक बन्न चाहन्थेँ, कलाकार भएँ’



भेट्रान निर्देशक अशोक शर्माले चलचित्र ‘रातो टीका निधारमा’ बाट छोरा अंकितलाई अभिनयमा डेब्यू गरेका छन् । चलचित्रमा अंकितको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग जोडी बाँधिएको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको यो चलचित्र असोज १० गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रको व्यापारिक नतिजा र छोराको करिअरको चिन्ताले अहिले निर्देशक शर्मालाई सताउन थालेको छ ।

उनले छोराका लागि ‘रातो टीका निधारमा’ निर्माण गरेको भन्दै अहिले विभिन्न खाले टिका-टिप्पणी पनि भइरहेका छन् । तर, उनी यो कुराको खण्डन गर्छन् । कथामा सुहाउने भएपछि मात्र छोरालाई अभिनय गराएको उनको भनाई छ । उनी भन्छन्, ‘म कसैका लागि भनेर चलचित्र बनाउने व्यक्ति होइन । ‘रातो टीका निधारमा’ पनि छोराका लागि भनेर बनाएको होइन ।’


उनी अगाडि भन्छन्, ‘मलाई केमा खुसी लागेको छ भने अचेल छोरा-छोरीहरु विदेश पढ्न गएपछि नेपाल फर्किन मान्दैनन् । मेरा छोरा-छोरी भने अध्ययन सकेर नेपाल फर्किएका छन् । दुबैले चलचित्र ब्याचलर गरेका हुन् । नेपाल आएपछि दुबैमा चलचित्रको कुन विधामा जाने भन्ने अन्योलतामा थियो । छोराले अभिनय रोज्यो । छोरीको पनि अभिनयमा रुची छ ।’

तर, अंकितलाई भने पहिला अभिनय गर्न मन रहेनछ । चलचित्र ‘जय भोले’ मा सहायक निर्देशकको काम गरेपछि आफूलाई अभिनयमा रुची बढेको उनी बताउँछन् । अंकित भन्छन्, ‘स्कुलमा हुँदा स्टेजमा अभिनय त गरेको हुँ । अभिनयको तारिफ पनि हुन्थ्यो । यूनिभर्सिटी गएपछि भने मलाई चलचित्र मेकिङप्रति झुकाव बढ्यो । चलचित्र मेकिङ नै गर्छु भनेर नेपाल फर्किको थिएँ ।’

उनी अगाडि थप्छन्, ‘जब ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेँ तब निर्देशक बन्न अनुभव पनि चाहिने रहेछ भन्ने बुझेँ । तर, त्यसका लागि मसँग प्रयोगात्मक ज्ञान थिएन । तर, क्षेत्र नै यही रोजेपछि कुनै न कुनै विधाबाट सुरु गर्नुपर्छ भन्ने लागेपछि अभिनय रोजेँ ।’ उनी अब आफूलाई अभिनयमा नै अगाडि बढाउने बताउँछन् । भविष्यमा चलचित्र निर्देशन गर्ने सोचमा पनि छन्, उनी ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu