असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको प्रदर्शनमा आउन लागेको अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टीका निधारमा’ बाट अभिनयमा डेब्यू गरेका नव-अभिनेता अंकित शर्माले आफूले अध्ययन गरेको स्कुलको भ्रमण गरेका छन् । काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार फिल्मको टिमसँग पुगेका उनले विद्यार्थीसँग प्रत्यक्ष भेट गरे ।

मल्पी स्कुलका प्रिन्सिपल र विद्यार्थीले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा फिल्मको तर्फबाट अंकितसँगै अभिनेत्री साम्राज्ञी आरएल शाह, हास्यकलाकार रविन्द्र झा र निर्देशक अशोक शर्मा उपस्थित भएका थिए । यस विद्यालयमा कक्षा १० सम्म पढेका अंकितले अध्ययनको शिलशिलामा आफूले भोगेका र सिकेका कुरा विद्यार्थीमाझ सुनाए ।
‘हामीले बुबा-आमाको करकापमा यस्तो बन्ने, उस्तो बन्ने भनेर पढ्नु भन्दा पनि आफूलाई जुन विषय र क्षेत्रमा इच्छा छ त्यसैमा ध्यान लगाएर पढ्नु पर्छ । तब मात्र हामीले अध्ययनमा सफलता हासिल गर्न सक्छौं’, अंकितले भने । त्यस्तै, कार्यक्रममा बोल्ने क्रममा अभिनेत्री साम्राज्ञी होस्टेल बसेर पढ्दाको दिन सम्झिएर भावुक भइन् । होस्टेलमा बस्दा परिवार धेरै ‘मिस’ हुने उनले बताइन् ।

‘होस्टेल जीवनमा सबैभन्दा धेरै परिवारलाई ‘मिस’ गर्थेँ । बाल्यकाल उहाँहरुसँगै वितोस् भन्ने चाहना हुन्थ्यो । तरपनि होस्टेलका साथीहरुलाई हेरेर चित्त बुझाउथेँ । साथीहरुको साथले कहिले काहिँ परिवारलाई बिर्साइदिन्थ्यो’, उनले भावुक स्वरमा भनिन् । चलचित्रको सफलतासँगै दशैं तथा तिहारको शुभकामना पनि आदान-प्रदान गरिएको कार्यक्रममा कलाकार रविन्द्र पनि विद्यार्थी जीवनमा फर्किए ।
उनले स्कुल जीवन आफूलाई सधैं ‘मिस’ हुने बताए । उनी भन्छन्, ‘स्कुल जीवनमा विताएका पल सबैभन्दा प्रिय हुन्छन् । त्यो बेला न वर्तमान न त भविष्यकै चिन्ता हुन्थ्यो । कहिले काहिँ फेरि त्यही जीवनमा फर्किन पाए हुन्थ्यो जस्तो लाग्छ । म अहिले स्कुल जीवन निकै ‘मिस’ गर्छु । बाल्यकालका साथीको सम्झना खुब आउँछ ।’ उनले चलचित्र राम्रो बनेको भन्दै विद्यार्थीलाई एकपटक हेर्न पनि आग्रह गरे ।

‘रातो टीका निधारमा’ मा साम्राज्ञी, अंकित र रविन्द्रका अलावा नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेललगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रलाई किरण शर्मा र कृति शर्माले लगानी गरेका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र मित्र देव गुरुङको सम्पादन छ ।




