चलचित्र ‘नाई नभन्नु ल २’ मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ गीत गाएपछि चर्चामा आएका गायक प्रेम परियारले चलचित्र ‘पोइ पर्यो काले’ को गीत ‘मायाले मलाई’ मा स्वर दिएका छन् । यो गीतको मंगलबार रेकडिङ गरिएको छ । गायक परियारले पढाईका कारण र स्वर बदलिएका कारण आफूले केही समय फिल्मको गीतमा आवाज नदिएको बताए ।
उनले यो गीतको शब्द मन परेकाले गाएको बताए । गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको बताउँदै प्रेमले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए । रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । यो गीतमा चलचित्रका मुख्य दुई कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ ।

कात्तिक ८ गते प्रदर्शन हुने यस चलचित्रमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
कमेडी जनरामा निर्माण भएको यो चलचित्रले श्रीमान् ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतारचढावको कथालाई प्रस्तुत गर्नेछ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको यस फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्मका निर्मातामा दिपक मनाङ्गे (राजिव गुरुङ) सरोज नेपाली, अमलादेवी राई र देव तामाङ रहेका छन् ।




