असोज १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘रातो टिका निधारमा’ टिमले मंगलबार दिउँसो गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा आश्रित दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई रातो टिका र जमरा लगाएर दशैं मनाएको छ । साथै, उपहार स्वरुप नयाँ कपडा पनि प्रदान गरिएको छ । चलचित्रका अभिनेता अंकित शर्मा, अभिनेत्री साम्राज्ञी आरएल शाह, कलाकार रविन्द्र झा र निर्देशक अशोक शर्मासँग दशैं मनाउन पाउँदा अशक्त बालबालिकाको अनुहारमा खुसीको भाव देखिन्थ्यो ।

वेमेन्स रूम्स रिलोटेड (WRR) को सहकार्यमा ‘रातो टिका निधारमा’ टिमले त्रिनेत्र फाउन्डेसनलाई सहयोग गरेको थियो । पहिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा अभिनेत्री साम्राज्ञी भावुक देखिइन् । उनले भने, ‘मैले अहिलेसम्म यस्तो खालको सहयोग गरेकी थिइनँ। पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निमित्त सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ ।’

उनी भविष्यमा तन-मन लगाएर सामाज सेवा गर्ने योजनामा छिन् । त्यस्तै, अभिनेता अंकित सामाजिक कार्यमा सहभागी हुन पाउँदा बेग्लै आनन्द महशुस हुने बताउँछन् । ‘रातो टिका निधारमा’ मा अभिनयमा डेब्यू गर्न लागेका उनले दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । निर्देशक शर्माले आफूले सधैं सामाजिक कार्य गर्ने गरेको बताए ।

कलाकार रविन्द्र झाले पनि सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुसी देखिए । उनी आफ्नो सानो सहयोगको कसैको जीवनमा ठुलो खुसी ल्याउन सक्ने बताउँछन् । ‘यसपटकको दशैँ ‘रातो टिका निधारमा’ विशेष हुनेछ । हामीले सम्पूर्ण नेपालीको कथा बोकेर आएका छौँ । आशा छ, हाम्रो चलचित्रले सबैलाई समेट्ने छ,’ झाले भने । किरण शर्मा र कृति शर्मा चलचित्रको निर्माण गरेका हुन् ।




