भेट्रान निर्देशक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ ले शुक्रबारबाट प्रदर्शन आरम्भ गरेको छ । दशैंको घटस्थापनाको छेकोमा प्रदर्शनमा आएको चलचित्रमा नव-अभिनेता अंकित शर्मा र साम्राज्ञी आरएल शाह प्रमुख भूमिका छ । अंकित निर्देशक शर्माका छोरा हुन् । उनले यही चलचित्रबाट अभिनयमा डेब्यू गरेका हुन् ।
एकल प्रदर्शनको दुर्लभ अवसर पाएको यो चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । तर, ‘रातो टिका निधारमा’ को व्यापारमा गएको हप्ता प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ बाधक बन्नसक्ने देखिन्छ । किनकि, यो चलचित्र हेर्ने दर्शकको चाप अझै कम भएको छैन ।

साम्राज्ञी र अंकितसँगै यस चलचित्रमा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।
चलचित्रको गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । चलचित्रका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति चलचित्रकी सहायक निर्देशक हुन् । मित्र देव गुरुङको सम्पादन छ ।




