गएको हप्ताको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले एक हप्तामा घरेलु बजारमा आक्रामक व्यापार गर्न सफल भएको छ । प्रदर्शनको तीन दिनमा ४ करोड ३२ लाखको व्यापार गर्दै रेकर्ड कायम गरेको चलचित्रले एक हप्तामा ७ करोडको आँकडा पार गरेको छ । चलचित्रको एक हप्ते कमाई ७ करोड ३८ लाख रहेको वितरक कम्पनी ‘स्टेशन फाइभ’ को दाबी छ ।

मल्टीप्लेक्समा पाएको सर्वाधिक सोज र बलियो ‘वर्ड अफ माउथ’ का कारण ‘कबड्डी कबड्डी कबड्डी’ ले कमाईमा उछाल ल्याएको हो । शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको चलचित्रप्रति दर्शकको क्रेज अझै कम भएको छैन । मल्टीप्लेक्समा फिल्मले दोस्रो साता पनि उल्लेख्य सोज पाएको छ । सिंगल थिएटर पनि पर्याप्य छ । दोस्रो हप्ताको अन्त्यसम्ममा चलचित्रले १० करोड छाप्ने अनुमान गरिएको छ ।
शैलेन्द्र डि. कार्कीले खिचेको चलचित्रले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रले नजिकिँदै गरेको दशैं विदाको पनि फाइदा उठाउने देखिन्छ ।




