कात्तिक २९ गतेबाट देशव्यापी प्रदर्र्शनमा आउन लागेको अभिनेता भुवन केसी अभिनीत चलचित्र ‘मिस्टर नेपाली’ को दशैं लक्षित गीत ‘हे मेरा परदेशी दाजु भाई’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा वैदेशिक रोजगारीमा जाने युवाहरुको पीडा दर्शाइएको छ । गीतले वर्तमान नेपालको पट्यारलाग्दो अवस्थाको वर्णन गर्छ ।
सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ । चलचित्रमा अभिनेता भुवन डबल रोलमा छन् । उनीसँगै चलचित्रमा सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको अभिनय छ ।

देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । परदेशमा रहेपनि मन त तेपाली नै हुन्छ भन्ने कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ । ‘मिस्टर नेपाली’ मा अभिनेता भुवनले पिता र छोराको भूमिका निभाएका छन् ।
चलचित्रले राष्ट्रियता र प्रेमको कथा भन्ने बताइएको छ । भुवनले लामो समयपछि कमब्याक गरेका कारण यो चलचित्रको दर्शकलाई व्यग्र प्रतिक्षा छ । एक समय नेपाली चलचित्रमा बलियो साम्राज्य बनाएका उनी पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा सक्रिय छन् । उनी चाँडै चलचित्र ‘एन्टी हिरो’ मा पनि देखिँदैछन् ।
गीत हेर्नुहोस् :-




