‘छ माया छपक्कै’ को प्यारोडी गीत ‘बिच्च बिच्चमा’ सार्वजनिक (भिडियो)



असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी चलचित्र ‘छ माया छपक्कै’ को प्यारोडी प्रमोसनल गीत सार्वजनिक भएको छ । गायक दुर्गेश थापाको स्वरमा रहेको पप शैलीको तीज गीत ‘बिच्च बिच्चमा’ को संगीतमा रमाइला टुक्का जोडेर फिल्म हेर्न दर्शकलाई आग्रह गरिएको छ । गीतमा दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ । गीतको भिडियो रमाइलो बनेको छ ।

भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा खिचिएको गीतको भिडियोमा गायक दुर्गेशसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला फिचर्ड छन् । यो गीतका कारण चलचित्रको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । यस वर्षको तीजमा सर्वाधिक घन्किएको गीतमध्येको एक हो, ‘बिच्च बिच्चमा’ ।


दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराजले एक युवा नेताको भूमिका निभाएका छन् । जसको आफूभन्दा आधा उमेर कम युवती (केकी अधिकारी) सँग प्रेम बस्छ । चलचित्रमा कलाकार जितु नेपालको जोडी अभिनेत्री सुपुष्पासँग बाँधिएको छ । यसअघि चलचित्रको ‘जूनको जुनेली’ गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । जसले यूट्युबमा राम्रो भ्यूज पाएका छन् ।

अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रमा निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । चलचित्रलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गरेको फिल्म हो यो ।

राजनीतिक पृष्ठभूमीमा प्रेम बुनिएको यो चलचित्रका कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा छ । संवादमा उनलाई केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोहित अधिकारीको निर्माण रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu