शुक्रबारबाट भेट्रान निर्देशक अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’ देशैभर प्रदर्शनरत छ । प्रदर्शनपूर्व यो चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गर्ने अनुमान गरिएको भएता पनि चलचित्रले प्रदर्शनको दुई दिनमा खासै राम्रो व्यापार गर्न सकेन । शुक्रबार र बिदाको दिन शनिबार पनि चलचित्रको व्यापार अपेक्षाकृत नभएको निर्देशक शर्मा स्वयं स्वीकार गर्छन् । ‘कबड्डी कबड्डी कबड्डी’ का कारण चलचित्रको व्यापारमा ठूलो असर पुगेको उनको भनाई छ ।
चलचित्रको दुई दिने कलेक्सन ६१ लाख ६४ हजार रहेको बताउँदै उनले चलचित्रको व्यापार अपेक्षाकृत नहुनुको कारणबारे भने, ‘हो, हामीले जति अपेक्षा गरेका थियौं चलचित्रले त्यो अनुसार व्यापार गर्न सकेको छैन । यसको एउटा कारण ‘कबड्डी कबड्डी कबड्डी’ पनि हो । पहिलो हप्ता यो चलचित्रले निकै राम्रो व्यापार गरेको थियो । दोस्रो हप्तामा पनि चलचित्र हेर्ने दर्शकको चाप उस्तै छ । अर्को चाहिँ हामीले रोजेको मिति चलचित्र रिलिजका लागि उपयुक्त भएन ।’

चलचित्रका लागि उपयुक्त मिति असोज १७ गते रहेको भएता पनि साथीभाईको सल्लाहमा आफू एक हप्ता अगाडि सरेको उनले बताए । ‘सबैभन्दा ठूलो कुरा हामीले सही डेट छनोट गर्न नसक्नु नै हो । त्यसमाथि ‘कबड्डी कबड्डी कबड्डी’ ले अझै दर्शक तानिरहेको छ’, उनले अगाडि भने, ‘कुनै चलचित्र एकदमै चलेको दुई हप्तासम्म ग्याप हुन जरुरी थियो । कि, एकदमै बिदा हुनुपर्थ्यो । तर, यी कुनै कुरा भएन । जसको असर चलचित्रको व्यापारमा पर्यो ।’
पूर्वतिर दुई दिनदेखि परेको मुसलधारे पानीका कारण पनि चलचित्रको व्यापारमा असर पुगेको उनी बताउँछन् । ‘पूर्वको अधिकांश ठाउँमा केही दिनयता पानी परिरहेको छ । त्यसले गर्दा हलसम्म दर्शक पुग्न सकेका छैनन् । तर, सकारात्मक संकेत चाहिँ के छ भने चलचित्र हेर्ने दर्शकले राम्रो भन्नुभएको छ । अर्को साताबाट चलचित्रको व्यापार राम्रो हुन्छ भन्ने लागेको छ’, उनले भने । चलचित्रले दशैं बिदामा दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको निर्देशक शर्माले बताए ।
दुई दशक अगाडि प्रदर्शनमा आएको चलचित्र ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टिका निधारमा’ शिर्षक सापटी लिएर निर्माण गरिएको यो चलचित्रमा नव-अभिनेता अंकित शर्मा र अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी बाँधिएको छ । अंकित निर्देशक शर्माका छोरा हुन् । चलचित्रलाई दर्शकबाट राम्रो/नराम्रो दुबैखाले प्रतिक्रिया प्राप्त छ । तर, समीक्षकले फिल्म पिटिक्कै रुचाएका छैनन् । यद्यपि, चलचित्रले उठाएको विषयवस्तुको भने प्रशंसा भइरहेको छ ।




