‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’ जस्तो सफल चलचित्र पस्किएका हेमराज विसी निर्देशित नयाँ चलचित्र ‘घामड शेरे’ को पहिलो गीत सार्वजनिक भएको छ । डान्सिङ विटको ‘साली मनपर्यो’ बोलको रोमान्टिक गीतमा ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । यो चलचित्रमा दुईको प्रमुख भूमिका छ । उनीलाई फिल्ममा श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने बताइएको छ ।
दशैंको शुभकामना स्वरुप सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । उनलाई गायनमा अस्मिता अधिकारीले साथ दिएकी छन् । दीप लामा (द नेक्स्ट) को कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो दुबै सशक्त छ । गीतले चलचित्रको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्माण टिमको विश्वास छ । चलचित्र कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

पहिलो पटक निश्चल र स्वस्तिमाले जोडी भएर काम गरेका कारण यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । यसअघि दुईले चलचित्र ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतमा ठुम्का लगाएका थिए । ‘घामड शेरे’ कमेडी विषयवस्तुमा निर्माण भएको बताइएको छ । गौरी मल्लको अतिथी भूमिका रहेको चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको पनि अभिनय छ ।
नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको चलचित्रमा संगीत छ । निर्देशक विसीले नै चलचित्रको कथा तथा पटकथा लेखेका हुन् । उनी चलचित्रका निर्माता पनि हुन् । अधिकांश छायांकन सुर्खेतमा भएको चलचित्रको वितरण स्टेशन फाइभ र डिसिएनले मिलेर गर्दैछन् ।
गीत हेर्नुहोस् :-




