‘कबड्डी ३’ ले दुई हप्तामा ११ करोड कमायो



गएको असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ । दुई हप्तामा चलचित्रले ११ करोडको आँकडा पार गर्न सफल भएको छ । शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग बडा दशैंको शुभकामना आदान प्रदान गर्दै निर्माण टिमले चलचित्रको दुई हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गर्‍यो । वितरक कम्पनी स्टेशन फाइभका प्रचण्डमान श्रेष्ठले चलचित्रले दुई हप्तामा राजधानीमा ६ करोड छापेको बताए ।

चलचित्रको मोफसलको वितरण भने मनोज राठीको कम्पनी ब्यांकटेस् इन्टरटेनमेन्टले लिएको हो । उनी कार्यक्रममा उपस्थित भएका थिएनन् । उनको भनाई उद्धित गर्दै चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले बिहीबार साँझसम्म ‘कबड्डी कबड्डी कबड्डी’ ले देशभरबाट कूल ११ करोड ३ लाखको व्यापार गरेको जानकारी दिए । भोली (फूलपाती) बाट दशैंको विदा भएका कारण चलचित्रको व्यापार बढ्ने अपेक्षा निर्माण टिमको छ ।

समीक्षकबाट मिश्रित प्रतिक्रिया बटुलेको यो चलचित्रलाई दर्शकले भने राम्रो भनेका छन् । दृश्यभाषामार्फत् मौलिक कथा पस्कन सिपालु मानिने निर्देशक रामबाबु गुरुङमाथि ‘कबड्डी’ ब्रान्डलाई दुहुनो गाई बनाएको समीक्षकले आरोप लगाएका छन् । उनी यो कुरा खण्डन गर्न चाहँदैनन् । आफ्नो टिमले ‘कबड्डी’ को ब्रान्ड बेचेको उनी स्वीकार गर्छन् । तर, पैसाकै लागि जबरजस्ती रुपमा चलचित्रको सिक्वेल निर्माण नगरेको उनको भनाई छ ।


‘कबड्डी’ को चौथो सिक्वेलका लागि कथाको केस्रा तयार पारिसकेका निर्देशक गुरुङले चलचित्रको पाँचौ सिक्वेल भने आफू भिखारी नै भए पनि नबनाउने दाबी गरे । ‘कबड्डी ४’ नै अन्तिम सिक्वेल हुने उनको भनाई छ । ‘कबड्डी ३’ मा समीक्षकले औंल्याएका गल्तीहरुमा आफू चुकेको पनि उनी स्वीकार गर्छन् । ‘समीक्षकहरुले जहाँ-जहाँ कमजोरी देखाउनुभएको छ त्यसमा हामी चुकेकै हौं । अर्को सिक्वेलमा त्यो गल्ती दोहोरिन नदिने वाचा गर्छु’, उनले भने ।

अभिनेता दयाहाङ राईले चलचित्रको सफलताबाट आफू खुसी रहेको बताए । धेरैपछि सफलताको स्वाद चाखेका उनी चलचित्र चल्नुको प्रमुख कारण ब्रान्डलाई मान्छन् । उनी भन्छन्, ‘दर्शकमा ‘कबड्डी’ ब्रान्डप्रति विश्वास छ । यसैको कारण हो कि चलचित्रको हरेक सिक्वेल बक्सअफिसमा राम्रो चलेका छन् । चलचित्रले उठाएको विषयवस्तुमा दर्शकले आफूलाई ‘रिलेट’ गर्ने भएका कारण पनि चलचित्रको व्यापार राम्रो भएको हुनुपर्छ ।’

दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा चलचित्रका कलाकारहरु विल्सन विक्रम राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, बुद्धि तामाङलगायत उपस्थिति थिए । निर्देशक गुरुङले ‘कबड्डी’ को चौथो पार्ट कहिले आउँछ भन्ने अहिले नै भन्न नसक्ने बताए । अहिले उनी ‘धुर्मुस सुन्तली’ को निर्माण र अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’ को काममा व्यस्त छन् । सम्भवतः यो चलचित्रपछि उनले ‘कबड्डी ४’ बनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu