पहिलो पटक निर्माण गरेको चलचित्र ‘छ एकान छ’ ले बक्सअफिसमा राम्रो व्यापार गरेपछि दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले हरेक चलचित्रको नाम ‘छ’ नामबाट जुराएको छ । ‘वडा नम्बर छ’ र ‘छक्का पञ्जा’ को तीन सिरिजपछि अहिले हलमा दीपक-दीपाको टीमले निर्माण गरेको ‘छ’ नामबाटै नामाकरण गरिएको चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनरत छ । यो चलचित्रले पनि बक्सअफिसमा सानदार व्यापार गरिरहेको छ ।
वर्षमा एउटा मात्र चलचित्र निर्माण गर्ने दीपक-दीपाको समुहले अर्को वर्षका लागि ‘छ’ नामबाट ‘छन् गेडी सबै मेरी’ चलचित्र बनाउन लागेको चर्चा फिल्मवृतमा छ । निर्देशक सिमोस सुनुवारले फिल्मको निर्माण र निर्देशन गर्ने बताइएको छ । नाफाको ६० प्रतिशत लिने सर्तमा दीपक-दीपाको टीमले यो चलचित्र गर्ने सहमति भएको जानकारी प्राप्त छ । प्रदीप भारद्धाजले चलचित्रको कथा लेखेका छन् ।

तर, तत्काल यो चलचित्र नबन्ने भएको छ । यसको जानकारी कलाकार तथा निर्माता दीपकराज गिरी स्वयंले दिएका हुन् । ‘छ माया छपक्कै’ हेर्ने दर्शकसँग साक्षात्कार गर्न शनिबार पोखरा पुगेका उनले ‘छन् गेडी सबै मेरी’ को कथामा होमवर्क नपुगेका कारण तत्कालका लागि यो चलचित्र बन्ने सम्भावना नभएको बताए । ‘एउटा कथामा काम गर्न करीब १० महिना समय लाग्छ । यो चलचित्रको कथामा अझै होमवर्क पुगेको छैन । त्यसैले तत्काल यो चलचित्र बन्ने सम्भावना कम छ’, उनले भने ।
पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले कमेडीले चलचित्र नचल्ने पनि बताए । उनी भन्छन्, ‘चलचित्र कमेडीले चल्ने भए अहिले वर्षेनी दर्जनौं चलचित्र कमेडी कथावस्तुमा बन्छन् । तर, किन सबै चल्दैनन् त ? चलचित्रमा कमेडी होइन कन्टेन्ट चाहिन्छ । हाम्रो चलचित्रमा कमेडी मात्र हुन्थ्यो भने दर्शकले यो स्तरको साथ कहिल्यै दिनुहुन्न थियो । त्यसैले हामीले बनाउने चलचित्रको कथा बलियो हुनुपर्छ ।’




