निर्देशक विसी भन्छन्, ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा कथाको माग’



निर्देशक हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’ यही कात्तिक ८ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछन् । चलचित्रमा रियल निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । यसअघि शहरिया युवापुस्ताको प्रेममा आउने उतार-चढावलाई चलचित्रमा उतारेका निर्देशक विसीले यो चलचित्रमा कथा भन्न गाउँ पसेका छन् । वर्षौ विदेशमा कमाएको पैसाले गाउँमै खेतीपाती गर्ने योजना बोकेर गाउँ फर्किएको एक युवकको कथा चलचित्रमा बुनिएको छ ।

पहिलो पटक आफ्नो जनराभन्दा बाहिरको चलचित्र गरेका निर्देशक विसी ‘घामड शेरे’ ले समाज र सिस्टमप्रति व्यंग्य गर्ने बताउँछन् । ‘हाम्रो समाजमा जिद्धि, एकसुरे, अरुले भनेको नसुन्ने र नटेर्ने व्यक्तिलाई घामड भन्ने गरिन्छ । चलचित्रमा निश्चलले निभाएको पात्र पनि त्यही प्रकारको छ । उसले जे गर्छ त्यो समाजका लागि घामड लाग्छ’, उनी अगाडि भन्छन्, ‘समाज र सिस्टमप्रति सटायर हो चलचित्र ।’

‘घामड शेरे’ छायांकन भएको स्थान सुर्खेतमा एक व्यक्तिले आफूले किनेको खेत खोलालाई बगाएपछि खोलालाई नै मुद्धा हालेको कहावतबाट चलचित्रको कथाको जन्म भएको निर्देशक विसी बताउँछन् । ‘सुर्खेततिर यो जोक्स निकै चर्चित छ । धेरैले यसलाई सत्य पनि मान्छन् । तर, कसैलाई यसको वास्तविकता भने थाहा छैन । मलाई चलचित्रको आइडिया त्यहीँबाट आएको हो’, उनले भने ।


उनी चलचित्रमा निश्चल र स्वस्तिमा कथाको माग रहेको बताउँछन् । चलचित्रमा सबैभन्दा अगाडि निश्चल अनुबन्ध भएका थिए । फिल्मको स्क्रिप्ट लक भएपछि निर्देशक विसीले निश्चललाई अभिनेत्रीमा स्वस्तिमाको नाम सिफारिस गरे । निश्चल कुनै आपत्ति नजनाएपछि निर्देशक विसीले स्वस्तिमालाई चलचित्र अप्रोच गरे । तर, स्वस्तिमाले आफू फिट नहुने भन्दै अर्कै अभिनेत्रीको नाम सिफारिस गरिन् ।

निर्देशक विसी भन्छन्, ‘जब मैले स्वस्तिमालाई चलचित्रको कथा सुनाएँ तब उसले यो भूमिकामा म फिट हुँदिन अर्कै अभिनेत्री राख्नुस् भनेकी थिइन् । उनले केही अभिनेत्रीको नाम पनि सिफारिस गरेकी थिइन् । तर, मैले चलचित्रमा निश्चलको सालीको भूमिकामा स्वस्तिमामा बाहेक अरु सोचेको थिइनँ । बल्ल बल्ल उसलाई कन्भिन्स गराएँ ।’ अभिनेत्री स्वस्तिमाले पनि उनको कुरामा सहमति जनाइन् ।

‘घामड शेरे’ को मूलकथा निश्चलको वरिपरि घुमेको छ । उनले चलचित्रमा विदेशबाट फर्किएको एक युवकको भूमिका निभाएका छन् । सुष्मा निरौलाले चलचित्रमा निश्चलको श्रीमतीको भूमिका निभाएकी छन् । सिमोस सुनुवार निर्माता र नरेन्द्र विक्रम बुद्ध क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको चलचित्रमा संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu