भोजपुरी चलचित्रका ठूला स्टार मानिने अभिनेता दिनेश लाल यादव ‘निरहुवा’ ले नेपाली चलचित्र ‘छ माया छपक्कै’ हेरेका छन् । एक भोजपुरी चलचित्रको छायांकनका लागि नेपाल आएका उनले आइतबार साँझ काठमाडौंको बिग मुभिजमा चलचित्र हेरेका हुन् । नेपाल र नेपाली चलचित्र निकै मनपर्ने बताउने उनले ‘छ माया छपक्कै’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।
निरहुवासँगै फिल्म हेर्न हल पुगेका चलचित्र ‘सुश्री सम्पत्ति’ का निर्देशक सुव्रत आचार्यले आफ्नो आधिकारिक फेसबुकमा उनीसँग खिचेको तस्विर साझेदार गर्दै लेखेका छन्, ‘सुटिङका लागि काठमाडौं आउनुभएका भोजपुरी चलचित्र स्टार निरहुवा उर्फ दिनेशलाल यादवसँग ‘छ माया छपक्कै’ हेरियो । दिनेशजीलाई चलचित्र ‘बहुत बढिया’ लागेछ । मलाई पनि निकै ‘बढिया’ लाग्यो ।’
निर्देशक आचार्यको पोस्टको कमेन्टमा ‘छ माया छपक्कै’ का कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीले निरहुवाले ‘छक्का पञ्जा ३’ पनि हेरेको बताएका छन् । उनले निरहुवालाई चलचित्र हेरिदिएकोमा धन्यवाद दिएका छन् । भोजपुरी चलचित्रको छायांकनका लागि बाक्लै नेपाल आउने निरहुवाले नेपाली चलचित्रको मेकिङ शैलीले आफूलाई लोभ्याउने बताउने गरेका छन् ।
‘छ माया छपक्कै’ को बक्सअफिस रिपोर्टको कुरा गर्ने हो भने चलचित्रले प्रदर्शनको ९ दिनमा ९ करोडको व्यापार गरेको वितरक र निर्माताले दाबी गरेका छन् । ‘वर्ड अफ माउथ’ बलियो हुँदा त्यसको प्रभाव चलचित्रको बक्सअफिसमा परेको छ । निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार, सिंगल पर्दाहरु सामान्य रहेपनि मल्टीप्लेक्समा चलचित्रको व्यापार राम्रो छ ।
चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेको चलचित्रमा राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको छ । रोहित अधिकारीको निर्माणमा बनेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्टलगायतको अभिनय छ । यो चलचित्रको लाइफटाइम कलेक्सन १२ देखि १५ करोडसम्म हुने अनुमान गरिएको छ ।




