पूजालाई किन लागिरहेको छ डर ?



वर्षमा एक वा दुईभन्दा बढी चलचित्रमा काम नगर्ने नेपाली चलचित्रकी अहिलेकी सबैभन्दा डिमान्डेड अभिनेत्री पूजा शर्माले धेरैपछि निर्देशक सुदर्शन थापाको क्याम्पबाट बाहिर निस्किएर काम गरेको चलचित्र ‘पोइ पर्‍यो काले’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा उनले छुच्ची स्वभावकी एक युवतीको भूमिका निभाएकी छन् । तर, किन उनलाई चलचित्रको पहिलो हाफसम्म दर्शकले आफूलाई मन नपराउने डर लागिरहेको छ ?

एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मैले अहिलेसम्म लभस्टोरी चलचित्र गरिरहेको थिएँ । यसपटक केही फरक गरौंन भनेर कमेडी जनराको चलचित्र गरेको छु । पहिलो हाफसम्म त मैले निभाएको क्यारेक्टर नेगेटिभ नै देखिन्छ । कति दर्शकले मन नपराउन पनि सक्नुहुन्छ । मलाई त्यसको एकदमै डर लागिरहेको छ । सुटिङको बेला मैले निर्देशक शिशिर राणालाई दर्शकले मलाई मनै पराउँदैनन् भनेर भन्थेँ ।’


कथावस्तु मन परेर यो चलचित्र गर्न राजी भएको उनी सुनाउँछिन् । ‘समाजमा घटिरहेको घटनालाई फिल्मले उठाएको छ । कसैलाई हेर्दा सबैभन्दा अगाडि हाम्रो आँखा लुकमा नै जान्छ । यो चिज हरेकमा हुन्छ । तर, हामीले कसैलाई रुप हेरेर मुल्यांकन गर्नु हुँदैन । रुप जस्तो भए पनि मन सफा हुनुपर्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको छ’, उनी सुनिइन् । उनी चलचित्रले उठाएको विषयवस्तुले दर्शकको मन छुनसक्नेमा विश्वस्त छिन् ।

‘पोइ पर्‍यो काले’ लाई शिशिर राणाले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनकै हो । पूजासँगै आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, राजाराम पौडेलको प्रमुख भूमिका रहेको यो चलचित्र पूर्ण रुपमा कमेडी र सामाजिक कथामा बनेको निर्माण टिमले बताएको छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu