निश्चल भन्छन्, ‘अहिले बनिरहेको जस्तै चलचित्र बनाउँदिनँ’



गएको २ वर्षपछि प्रदर्शनमा आएको चलचित्र ‘लुट २’ पछ निर्देशक निश्चल बस्नेतले नयाँ चलचित्र बनाएका छैनन् । बरु, उनी चलचित्र अभिनयमा व्यस्त छन् । उनको नयाँ चलचित्र ‘घामड शेरे’ यही कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । जसमा उनले अभिनेत्री स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । चलचित्रका निर्देशक हेमराज विसी हुन् । चलचित्रको मूलकथा नै निश्चलको वरिपरि घुमेको छ ।

‘लुट’ बाट तपाईंले नेपाली चलचित्रमा जुन उपस्थिति जनाउनु भएको थियो त्यो अब सम्भव नदेखेर फिल्म निर्देशनबाट दूरी बनाउनु भएको हो ? एक कफी भेटमा उनलाई पत्रकारले प्रश्न गरे । जवाफमा उनले भने, ‘अब मैले बनाउने चलचित्र केही हदसम्म भए पनि फरक हुनुपर्छ भन्ने लाग्छ । उस्तै किसिमको चलचित्र बनाउने हो भने म ६/६ महिनामा चलचित्र निकाल्न सक्छु । मसँग त्यति धेरै स्क्रिप्टहरु आउँछन् । र, आइडियाहरु मसँग त्यति धेरै छ ।’


निश्चल अगाडि भन्छन्, ‘अहिले बनिरहेका चलचित्रभन्दा केही फरक बनाउने कोशिशका कारण मलाई निर्देशनमा फर्किन समय लागेको हो । चलचित्र हेरेपछि अरुलाई त्यो लागोस् वा नलागोस् अर्कै ठाउँमा छ । तर, मलाई चाहिँ केही फरक गरेँ भन्ने महशुस हुनुपर्छ । मेरो लाइफटाइम भरी निर्देशकको रुपमा धेरै चलचित्र पाउनुहुन्न । थोरै पाउनुहुन्छ तर मेरो कोशिश यति रहनेछ कि ती सबै चलचित्रहरु मार्केटमा चलिरहेको फिल्मभन्दा केही फरक हुनेछ ।’

आफ्नो लेखन आफ्नो एउटा स्पेसिफिक जनरामा मात्र ठिक रहेको उनको भनाई छ । अरु जनरामा आफ्नो लेखन राम्रो नभएको उनी धक नमानी बताउँछन् । आफूले अन्य जनरामा लेख्ने प्रयास गरेको भएता पनि आफैंलाई चित्त नबुझेको उनले बताए । उनी भन्छन्, ‘म लेखनमा त्यसै त असफल भइरहेको छु । आफ्नो जनराभन्दा बाहिरको चलचित्र लेख्न थाले भने त झन् ढुट्टो हुन्छ भनेर अरुलाई लेख्न लगाइरहेको छु ।’

निर्देशक टर्न अभिनेता निश्चलले आफूले खेल्ने चलचित्रको स्क्रिप्ट अरुले खोजिरहेको र आफूले बनाउने स्क्रिप्टहरु आफैंले खोजिरहेको बताए । उनी अहिले आफूले निर्देशन गर्ने चलचित्रको स्क्रिप्टमा काम भइरहेको बताएका छन् । प्राप्त जानकारी अनुसार, उनी अर्को वर्ष चलचित्र निर्देशनमा कमब्याक गर्ने तयारीमा छन् । अहिले उनको चलचित्रको स्क्रिप्ट चर्चित लेखक बुद्धिसागरले लेखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu