प्रदेश ४ का प्रदेशसभा सदस्य तथा गुन्डा नाइकेको रुपमा परिचित दीपक मनाङ्गेको जीवनमाथि बायोपिक चलचित्र बन्ने भएको छ । यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘पोई पर्यो काले’ का निर्माता द्वय किरण नेपाली र अमलादेवी राईले दीपक मनाङ्गेको जीवनमा आधारित भएर चलचित्र बनाउन लागेको हुन् ।

चलचित्रको नाम समेत फाइनल भइसकेको छ । निर्माण टिमले चलचित्र विकास बोर्डमा ‘मनाङ्गे’ नाममा चलचित्र दर्ता गरेको छ । जमन बिष्टले चलचित्रको निर्देशन गर्नेछन् । अहिले चलचित्रको कथा निर्देशक बिष्ट स्वयंले लेखिरहेका छन् । चलचित्रको विषयमा जानकारी दिँदै निर्माता किरण नेपालीले भने, ‘अहिले चलचित्रको पहिलो चरणको काम भइरहेको छ । दीपक दाईसँग अनुमति लिएर चलचित्र बनाउन लागेका हौं ।’
दीपक मनाङ्गेको जीवनमा आएको उतार-चढावमा केन्द्रित भएर चलचित्र बन्नेछ । चलचित्र ‘पोई पर्यो काले’ का निर्माता समेत रहेका दीपक मनाङ्गेले यसअघि ‘वान वे’ नामक चलचित्र पनि बनाएका थिए । जसबाट उनका छोरा सिद्धार्थले अभिनयमा डेब्यू गरेका थिए । तर, यो चलचित्रले हलमा हावा खाएको थियो ।




