पछिल्लो समय प्रेममा रहेको जोडीले आफूले गर्र्ने चलचित्रमा एकअर्कालाई सिफारिस गर्ने गरेको निकै सुन्ने गरिन्छ । के निर्देशक टर्न अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का पनि चलचित्रमा एकअर्कालाई सिफारिस गर्छन् ? धेरैका लागि चासोको विषय हो यो । दुईको प्रमुख भूमिका रहेको चलचित्र ‘घामड शेरे’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । हेमराज विसी निर्देशित चलचित्रमा उनीहरु भेना र सालीको भूमिकामा छन् ।
यो चलचित्रमा सबैभन्दा अगाडि निश्चललाई अनुबन्ध भएका थिए । स्क्रिप्ट लक भएपछि मात्र स्वस्तिमालाई चलचित्र अप्रोच गरिएको थियो । के निश्चलको सिफारिसमा चलचित्रमा स्वस्तिमा लिनुभएको हो ? हालै एक कफी भेटमा निर्देशक विसीमाथि पत्रकारको प्रश्न तेर्सियो । उनले निश्चलको सिफारिसमा आफूले अभिनेत्रीमा स्वस्तिमालाई चलचित्र अफर नगएको दाबी गरे ।

स्वस्तिमाको कास्टिङबारे उनले भने, ‘चलचित्रको स्क्रिप्टमा काम हुँदासम्म हाम्रो दिमागमा स्वस्तिमा थिइनन् । जब स्क्रिप्ट लक भयो तब मलाई लाग्यो कि यो भूमिकामा स्वस्तिमा सुहाउँछिन् । यसबारेमा मैले निश्चलसँग कुरा गरेँ । उसले आपत्ति नजनाएपछि मैले स्वस्तिमालाई चलचित्रको स्क्रिप्ट सुनाएँ । तर, उनले यो भूमिकामा आफू फिट नहुने भन्दै अर्कै अभिनेत्रीको नाम सिफारिस गरिन् ।’
क्यारेक्टरलाई लिएर आफूले कन्भिन्स गराएपछि स्वस्तिमा चलचित्र गर्न राजी भएको उनी सुनाउँछन् । त्यस्तै, ‘घामड शेरे’ मा स्वस्तिमा हुनुको पछाडि आफ्नो कुनै संलग्नता नरहेको अभिनेता निश्चलको भनाई छ । कामको कुरामा आफूहरुले एकअर्कालाई सिफारिस नगर्ने उनी बताउँछन् । स्वस्तिमा पनि निश्चलको कुरामा लालमोहर लगाउँछिन् । उनी आफूहरुबीच सिफारिस नचल्ने बताउँछिन् ।
भिडियो अन्तर्वार्ता :-




