अभिनेता सलमान खानको ब्लकबस्टर चलचित्र ‘दबंग’ को तेस्रो सिक्वेलको एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा एक ग्रान्ड इभेन्टका बीच सार्वजनिक गरिएको ट्रेलर प्रेम, रोमान्स र द्वन्द्वले भरिपूर्ण छ । चलचित्रमा सोनाक्षी सिन्हा, रज्जोको रुपमा फर्किएकी छन् । भने, यसपटक फिल्ममा सई मान्जरेकर पनि देखिनेछिन् । सईले सलमानको लभ इन्ट्रेस्टको रोल निभाएकी छन् ।

चलचित्रमा विनोद खन्नाका भाई प्रमोद खन्ना सलमान उर्फ चलचित्रका चुलबुल पाण्डेको पिताको भूमिकामा देखिनेछन् । त्यस्तै, भिलेनको रोलमा साउथका सुपरस्टार सुदीप किच्चा छन् । चलचित्रलाई प्रभु देवाले निर्देशन गरेका हुन् । २० डिसेम्बरमा प्रदर्शनमा आउन लागेको चलचित्रलाई अरबाज खानले निर्माण गरेका हुन् । ‘दबंग’ को दोस्रो पार्ट सन् २०१२ मा आएको थियो ।
यसपटक चलचित्रको ट्रेलरमा सलमानको डाइलग अघिल्ला दुई फिल्मभन्दा दमदार देखिएको छ । ट्रेलरमा सलमानले दमदार डाइलग बोलेका छन्, ‘एक हुन्छ पुलिसवाला, एक हुन्छ गुन्डा, मलाई भनिन्छ पुलिसवाला गुन्डा ।’ उनले बोलेको अर्को वजनदार डाइलग छ, ‘कोही दबंग जन्मिँदैन, त्यसको पछाडि एक कहानी अवश्य हुन्छ ।’ चलचित्रको कथा सलमान स्वयंले लेखेका हुन् ।




